जनकपुरधाम- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ लगभग अन्तिम चरणमा पुगिसकेको छ। यो संस्करणको आइपिएल उपाधिका लागि आइतबार चेन्नईमा प्रतिस्पर्धा हुनेछ।
आइपिएल सुरू हुँदा सहभागी भएका १० टिममध्ये उपाधिका लागि मजबुत दाबेदारका रूपमा देखिएको टिम थियो, राजस्थान रोयल्स। एकपछि अर्को खेलमा लगातार ९ वटा म्याच जितेको यो टिम फाइनलसम्म पुग्ने लगभग निश्चित देखिन्थ्यो।
ब्याटिङ, बलिङ र फिल्डिङमा खरो उत्रिएका राजस्थानका खेलाडीहरूको प्रदर्शनलाई हेरेर क्रिकेटका विश्लेषकहरू पनि फाइनलसम्म यो टिमको यात्रा निश्चित रहेको दाबी गर्दै आएका थिए।
तर, पछिल्ला केही खेलमा सुरूवातजस्तै प्रदर्शन गर्न नसक्दा राजस्थान टिम अन्त्यमा आएर प्रतियोगिताबाट बाहिरिएको छ।
शुक्रबार राति सनराइजर्स हैदराबादसँग पराजय भोगेपछि फाइनलसम्म पुग्ने राजस्थानको यात्रामा विराम लागेको छ।
अर्कोतर्फ हैदराबाद दोस्रोपटक आइपिएलको उपाधि हातपार्ने सम्भावनालाई भने कायमै राखेको छ।
हैदराबादले दोस्रो क्वालिफायरमा शुक्रबार राजस्थानलाईलाई ३६ रनले पराजित गर्दै यसअघि फाइनलका लागि स्थान सुनिश्चित गरिसकेको कोलकत्ता नाइटराइडर्ससँग भिड्ने पक्का गरेको छ।
हैदराबादलाई फाइनलसम्म पु¥याउन उसका स्पिन बलरहरूले महत्वपूर्ण भूमिका खेले।
हैदराबाद सन् २०१६ पछि दोस्रोपटक उपाधि हातपार्न आइतबार कोलकत्तासँग भिड्ने भएको छ।
हैदराबाद तीव्र गतिका बलरको प्रयोगका लागि चिनिन्छ। तर, दोस्रो क्वालिफायरमा स्पिनर शाहबाज अहमद र अभिषेक शर्माले महत्वपूर्ण भूमिका खेले।
राजस्थानका ब्याटरहरू तीब्र गतिका बलरलाई निशाना बनाइरहँदा अहमद र शर्माको स्पिन बलिङसामू निरीह देखिए।
टौम कोहलर कैडमोरको रूपमा पहिलो विकेट गएपछि यशस्वी जयसवाल र कप्तान सन्जु सैमसनको ब्याटिङलाई हेर्दा राजस्थान चाँडै १७७ को लक्ष्य पूरा गर्ने धेरैले अनुमान गरेको थियो।
खेलको आठौं ओभरमा बलिङका लागि आएका अहमदको पहिलो बलमै छक्का लागएर जयसवालले स्वागत गरे।
तर, त्यसै ओभरको पाँचौं बलमा जयसवाललाई क्याच गर्न लगाएर हैदराबादले खेलमा पुनरागमन ग¥यो।
अहमदले रियान पराग र रविचन्द्रन अश्विनलाई आफ्नो स्पिन बलले आश्चर्यमा पार्दै डगआउट पठाए।
चार ओभरमा २३ रन खर्चेर उनले तीन महत्वपूर्ण विकेट निकाले। यो प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याच दिइयो।
यसअघि आफ्नो १४ म्याचमा जम्मा ३ विकेट लिएका अहमद राजस्थानविरूद्धको महत्वपूर्ण खेलमा जबरदस्त बलिङ गरे।
राजस्थानका कप्तान सैमसनले ब्याटिङ गरिरहँदा उनी राम्रो फर्ममा रहेको लागिरहेको थियो। उनी टिमलाई जितको तर्फ लग्ने अनुमान धेरैले गरेका थिए।
हैदराबादका कप्तान पैट कमिन्सले बलिङका लागि अभिषेक शर्मालाई जिम्मेवारी दिए। शर्मा आइपिएलको यो सिजनमा आक्रामक ब्याटिङका लागि चिनिन्छिन्।
यसअघि बलिङमा उनले जम्मा तीन ओभर गरेका थिए। तर, शर्माले आफ्नो तेस्रो बलमै सैमसनलाई क्याच गराएर दिएको झड्काका कारण राजस्थान खेलमा फर्किन सकेन।
शर्माले पछि शिमरौन हेटमायरलाई बोल्ड गरेर राजस्थानको मेरुदण्ड नै तोडिदिए। उनले पहिलोपटक चार ओभरको कोटा पूरा गरेर २४ रन खर्चेचर दुई विकेट निकाले।
Leave a Reply