टि– २० विश्वकप : दक्षिण अफ्रिकाविरूद्धको खेल जित्नैपर्ने दबाबमा नेपाल

तस्बिर : क्यान

जनकपुरधाम- टि–२० विश्वकपमा सहभागी नेपाली टोली संयुक्त राज्य अमेरिकामा भएको खेल सकाएर यतिबेला वेस्टइन्डिज पुगेको छ।

क्रिकेटको सन्दर्भमा अमेरिकाभन्दा विल्कुलै फरक माहोलमा वेस्टइन्डिजको आर्नोस भाले क्रिकेट रङ्गशालामा नेपाली टोलीले शनिबार बिहान दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ।

बंगलादेशले यही मैदानमा बिहीबार राति नेदरल्यान्ड्सलाई परास्त ग¥यो। यो मैदानलाई स्पिन बलिङका लागि अनुकूल ठानिएको छ।

एसोसिएट राष्ट्र नेपालले दक्षिण अफ्रिकाजस्तो टेस्ट राष्ट्रसँग खेल्ने अवसर हतपत जुर्दैन। विश्वकपमा २० राष्ट्र सहभागी गराउँदा नेपालको समूहमा तीनवटा टेस्ट खेल्ने राष्ट्र परे।

शनिबार दक्षिण अफ्रिकाविरूद्ध खेलेपछि नेपालको अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीको सूचीमा एउटा टेस्ट राष्ट्र थपिनेछ।

लिग चरणको तीन खेल जित्दै सुपर–८ मा स्थान सुनिश्चित गरिसकेको दक्षिण अफ्रिकासँग विश्वस्तरीय खेलाडीहरू छन्। यो टिमका कतिपय खेलाडीहरूसँग वर्षौदेखि आइपिएल खेलेको अनुभव छ।

एडन माक्र्रमको नेतृत्वमा रहेको टोलीमा क्विन्टन डिकक, हेनरिक क्लासन, डेभिड मिलरजस्ता धुरन्धर ब्याटरहरू छन्।

त्यस्तै कागिसो रबाडा, मार्को यान्सन, जेरल्ड कोयट्जीजस्ता तीव्र गतिका बलर र स्पिन बलिङमा केशव महाराज र तबरेज साम्सी छन्।

दक्षिण अफ्रिकाले नेपालविरूद्ध तीव्र गतिको आक्रमण गर्ने रणनीति लिनसक्ने सम्भावना बढी देखिन्छ।

नेपालका कप्तान रोहिन पौडेलले विश्वकपको मञ्चमा क्षमताअनुसार प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाली क्रिकेटको क्षमता समयक्रमसँगै विकसित हुँदै गएको भन्दै दक्षिण अफ्रिकाका कतिपय खेलाडीहरूले प्रशंसा गरेका छन्।

बलिया टोलीहरूले रहेकाले नेपाल रहेको समूह ‘डि’ लाई ‘ग्रुप अफ डेथ’ मानिएको छ।

समूह चरणमा हालसम्म खेलेका तीन खेल जितेर शीर्षस्थानमा रहँदै दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेको छ।

तीनमध्ये दुई खेल जितेको बंगलादेशले चार अंक जोड्दै आफूलाई बलियो स्थानमा उभ्याएको छ। अब बंगलादेशले नेपालसँग खेल्न बाँकी छ।

जम्मा एक खेल जितेको नेदरल्यान्ड्स दुई अंकसहित तेस्रो स्थानमा छ। उसले श्रीलंकासँग खेल्न बाँकी छ।

नेदरल्यान्ड्ससँग पराजित नेपालले वर्षाका कारण श्रीलंकासँग एक अंक बाँडेको थियो।

समूहका शीर्ष दुई टोली दक्षिण अफ्रिका र बंगलादेशसँगको प्रदर्शनले नेपालको यो विश्वकप यात्राको भावी दिशा निर्धारण गर्नेछ।

कुनै पनि खेल नजितेको श्रीलंंका रनरेटको आधारमा नेपालभन्दा तल छ।

विश्वकपको आगामी यात्राका लागि टिकिरहन दक्षिण अफ्रिकाविरूद्धको खेल जित्नैपर्ने दबाबमा नेपाल रहेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *