रोहितको सतकमाथि भारी परेको धोनीको त्यो २० रन

जनकपुरधाम- चेन्नइ सपुर किङ्स आइपिएलको सबैभन्दा ठूलो मानिने राइवलरीमा मुम्बइइन्डियन्सभन्दा फेरि एकपटक उत्कृष्ट साबित भएको छ।

आइतबार राति मुम्बइको घरेलु मैदान बानखेडे स्टेडियममा भएको खेलमा चेन्नइले २० रनको अन्तरले जित हासिल गर्‍यो।

मुम्बइ यो राइवलरीमा अहिले पनि २०–१७ ले अगाडि रहे पनि पछिल्लो ६ खेलमा चेन्नइको दबदबा रहेको छ।

चेन्नइले पाँच खेलमा जित हासिल गरेको छ भने मुम्बइले केवल एकमा मात्र जित प्राप्त गर्न सकेको छ।

पथिराना जितका हिरो

रोहित शर्मा र इशान किसनले २०७ रनको लक्ष्य पछ्याउँदै पावरप्लेमा विना कुनै क्षति ६३ रन बनाएर मुम्बइलाई जिततर्फ अगाडि डोर्‍याइसकेका थिए।

तर, यो स्थितिमा पथिरानाले आफ्नो पहिलो ओभरमै इशान र सूर्यकुमार यादवको विकेट लिएर मुम्बइलाई कडा झड्गा दिए।

इशानको क्याच शार्दुल ठाकुर र सूर्यकुमारको क्याच मुस्तफिजुर रहमानले समातेका थिए।

सूर्यकुमारले पथिरानाको बललाई थर्डम्यान क्षेत्रमा बलको गति प्रयोग गरेर छक्काका लागि खेलेका थिए।

त्यहाँ फिल्डिङ गरिरहेका मुस्तफिजुरले बललाई समाते। तर, त्यो बेला उनलाई लाग्यो खुट्टा बाउन्ड्रीबाहिर जानसक्छ। उनले बललाई भित्र फ्याले र बाहिरबाट भित्र आएर फेरि क्याच समाए।

मुम्बइका लागि यो ठूलो झड्गा थियो। यो झड्गाबाट मुम्बइ बाहिर निस्कन सकेन।

रोहितलाई राम्रो साथ दिइरहेका थिए तिलक वर्मा। तिलकसँग मिलेर रोहितले टिमलाई जितको तर्फ अगाडि बढाइरहेका थिए।

पथिरानाले फेरि एकपटक बलिङको जिम्मेवारी पाए। उनले तिलकका साथै रोमारिओ शेफर्डको विकेट निकालेर मुम्बइलाई लगभग पछाडि धकेलिदिए।

प्लेयर अफ द म्याच

पथिरानाले लगातार शानदार बलिङ गरेर ४ ओभरमा २८ रन दिएर ४ विकेट लिए। र, यो प्रदर्शनका कारण उनलाई प्लेयर अफ द म्याच बनायो।

पावर प्लेमा बलिङका लागि आउँदा आफू डराएको बताउँदै उनले महेन्द्रसिंह धोनीले हौसला बढाएको बताए।

परिणाममाथि ध्यान नदिइ बलिङतर्फ मात्रै केन्द्रित भएको उनले उल्लेख गरे।

पूर्वक्रिकेटर इरफान पठानले यो मैदानमा २०६ रन बचाउन सहज नभए पनि पथिरानाको बलिङका कारण चेन्नइले सफल साबित गरेको बताए।

धोनीको २० रन खास

१८६ रनको स्कोरमा डेरेल मिचेलको विकेट खसेपछि धोनी ब्याटिङका लागि मैदानमा आएका थियो। त्योबेला केवल ४ बलमात्र बाँकी थियो।

दुई सयको आँकडासम्म पुग्न चेन्नइलाई कठिन लागि रहेको थियो। तर, धोनी आउनासाथ अन्तिम ओभर फ्यालिरहेका मुम्बइका कप्तान हार्दिक पान्ड्याको लगातार तीन बलमा छक्का हानेर म्याचको नक्सा नै बदलिदिए।

४२ वर्षीय धोनीले ५ सयको स्ट्राइक रेटले ब्याटिङ गर्दै ४ बलमा २० रन बनाए।

र, धोनीको यही २० रन जितहारका लागि मुख्य अन्तर बन्यो।

जहाँसुकै खेले पनि दर्शकहरूको धोनीप्रतिको स्नेह हेर्न पाइन्छ। मुम्बइ इन्डियन्सको घरेलु मैदान भए पनि वानखेडेमा निलो जर्सीभन्दा कैयौंगुना बढी पहेँलो जर्सी देखिन्थ्यो।

मिचेल आउट भएपछि दुःख हुनुभन्दा दर्शकहरूमा बढी खुसी देखिएको थियो। किनभने ब्याटिङका लागि धोनी आइरहेका थिए।

मिचेलभन्दा अगाडि धोनी आइदिएको भए सम्भवतः १५–२० रन अझै बढी बन्न सक्थ्यो।

धोनीको खेल्ने अन्दाजले उनी ४२ वर्षको भइसकेको देखिँदैन। अहिले पनि उनी दशकअघिको सैलीले खेलिरहेका छन्।

रोहितले पाएनन् साथ

रोहितले शानदार ब्याटिङको प्रदर्शन गरे। उनले इशान र तिलकका रूपमा राम्रो साथी पनि पाए।

तर, महत्वपूर्ण मौकामा दुवै जना रोहितको साथ छोडेर डगआउट फर्किए। दुवैमध्ये कुनै एक जना दुई तीन ओभर अझै क्रिजमा उभिएको भए मुम्बइ यो खेल जित्न सक्थ्यो।

अर्को किनारबाट लगातार विकेट खस्न थालेपछि मुम्बइ रन गतिको दबाबमा फस्यो। र, यही कारण उसले हारको सामना गर्नुपर्‍यो।

आइपिएल करियरको दोस्रो सतक बनाएर पनि टिमलाई जिताउन नसकेकोमा रोहितलाई पक्कै पनि दुःख लागेको हुनुपर्छ।

रोहितले ६३ बलको आफ्नो इनिङमा १०५ रन बनाए। जसमा उनले ११ चौका र ५ छक्का प्रहार गरे।

ऋतुराजको कप्तानी इनिङ

चेन्नइका कप्तान ऋतुराज गायकवाड यो म्याचमा ओपनिङका लागि आएनन्। तेस्रो नम्बरमा ब्याटिङका लागि मैदानमा उत्रिएका ऋतुराज लयमा देखिए।

उनले ४० बलमा ६९ रनको इनिङ खेलेर टिमलाई मजबुत स्थितिमा पुर्‍याए।

ऋतुराजले शिवम दुबेसँग मिलेर तेस्रो विकेटको साझेदारीमा ४५ बलमा ९० रन जोडे। यसअघि उनले रचिन रवीन्द्रसँग मिलेर अर्धशतकीय साझेदारी गरेका थिए।

शिवम दुवे चमत्कारी ब्याटर

शिवम यो सिजनमा जसरी ब्याटिङ गरिरहेका छन्, त्यसले उनी टि–२० विश्वकपमा भारतीय टिमका लागि मजबुत दाबेदार ठानिन् थालिएका छन्।

आउनासाथ ठूलो सट खेल्ने गुण रहेका शिवम आफ्नो एकल दममा म्याचको नक्सा बदल्ने क्षमता पनि राख्छन्।

उनले ३८ बलमा ६६ रनको इनिङ खेल्दै १० चौका र २ छक्का प्रहार गरे।

म्याचपछि शिवमले भने,‘मलाई स्ट्राइक रेट राम्रो बनाउनु भनेर भनिएको थियो। यसखाले खेलका लागि अफ सिजनमा मैले कडा परिश्रम गरेको छु।’

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *