क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको ‘दुर्लभ’ कीर्तिमान

जनकपुरधाम- नेपाली राष्ट्रिय क्रिकेट टिमका दीपेन्द्रसिंह ऐरीले क्रिकेट खेलमा नयाँ कीर्तिमान बनाएका छन्।

ओमानमा जारी एसिसी प्रिमियर कपअन्तर्गत शनिबार भएको खेलमा ऐरीले कीर्तिमान बनाएका हुन्।

कुनै पनि ब्याटरले एक ओभरमा लगातार ६ छक्का प्रहार गर्नुलाई क्रिकेटमा दुर्लभ ठानिन्छ।

तर, शनिबार कतारविरूद्धको खेलमा ऐरीले दुर्लभ मानिने यही कुरा गरिदिए।

योसँगै उनी ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

ऐरीले यसअघि एसियन गेम्सका बेला मंगोलियाविरूद्ध पनि ६ बलमा लगातार ६ छक्का प्रहार गरेका थिए। तर, त्यो खेलमा लगातार ६ बल भए पनि ओभर भने फरक–फरक थियो।

यसअघि मंगोलियाविरूद्ध ९ बलमा अर्धशतक बनाएर कीर्तिमान कायम गरेका ऐरीले शनिबार कतारविरूद्ध १९ बलमा अर्धशतक पूरा गरे।

ऐरीले ९ बलमा बनाएको अर्धशतकको कीर्तिमान टुट्ने सम्भावना लगभग न्यून छ। किनभने यो कीर्तिमान टुट्न कुनै पनि ब्याटरले ८ बलमा लगातार छक्का प्रहार गर्नुपर्ने हुन्छ।

यसो गर्दा पनि कुल रन ४८ मात्र पुग्नेछ। कुनै बल नोबल भएको अवस्थामा ब्याटरले त्यो बलका साथै बाँकी सबै बलमा छक्का प्रहार गरेमात्र ऐरीले बनाएको अर्धशतकको कीर्तिमान टुट्ने छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एकै ओभरमा ६ छक्का बनाउने खेलाडीको सूची निकै छोटो छ।

योसँगै ऐरी टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्।

यसअघि भारतका युवराज सिंहले सन् २००७ को टि–२० विश्वकपमा इंग्ल्यान्डविरूद्ध एकै ओभरमा ६ छक्का बनाएका थिए।

त्यस्तै सन् २०२१ मा वेस्टइन्डिजका किरन पोलार्डले श्रीलंकाविरूद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

यस्तै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाका हर्सल गिब्सले सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरूद्धको खेलमा यो कीर्तिमान बनाएका थिए।

अमेरिकाका जसकरण मल्होत्राले पनि पपुवा न्युगिनीविरूद्धको एक दिवसीय खेलमा यस्तै कीर्तिमान बनाएका थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *