जनकपुरधाम- २६ मेको राति। चेन्नईमा तापक्रम करिब ३५ डिग्री सेल्सियस थियो। चेपौक स्टेडियममा चलिरहेको आइपिएल फाइनल हेर्न हजारौंको संख्यामा पुगेका दर्शकले स्टेडियम भरिभराउ थियो। खेलाडी पसिनाले लथपथ थिए।
सामाजिक सञ्जाल र स्पोर्टस् च्यानलको क्यामेराको फोकसमा रहने गरेकी हैदराबाद टिमकी संस्थापक काव्या मारन बाई भनेर ‘फोकस’ बाट टाढा गइसकेकी थिइन्।
कोलकत्ताका रिंकु सिंहलगायतका खेलाडीहरू खुसी देखिइरहेका थिए। दर्शकदीर्घामा बसेका कोलकत्ता टिमका मालिक शाहरुख खान र उनका परिवार खुसी थिए।
तर, एक जना शान्त थिए। ठीक यस्तो पूरा परिणाम आइसकेपछि मात्र अनुहारमा मुस्कान र खुशी आउला जस्तो।
कप्तान श्रेयस अय्यरले खेलेको सटपछि स्कोर बराबरीमा पुगेसँगै, शान्तपूर्वक बसेका त्यो मानिस गौतम गम्भीर आफ्नो स्थानबाट उठेर खेलाडीहरूसँग अंगालो मार्छन, खुसी हुन सुरू गर्छन्।
अघिल्लो बलमै वेंकटेश अयय्रले खेलेको सटपछि कोलकत्ता आइपिएल २०२४ को च्याम्पियन बन्छ।
सुनिल नारायण कोलकत्ता टिमका मेन्टोर गम्भीरलाई अंगालो हालेर उठाउँछन्। आकाश आतिसबाजीले जगमग हुन्छ। कोलकत्ता टिमले यो खुसी तेस्रोपटक हासिल गरेको छ।
कोलकत्तालाई तीनपटक च्याम्पियन बनाउन एउटा कुरा साझा छ– गौतम गम्भीर।
टिम च्याम्पियन बनेसँगै गम्भीरले सामाजिक सञ्जालमा लेखे,‘जसको मति र गति सत्यको हुन्छ, उसको रथ आज पनि श्री कृष्णले चलाउँछन्।’
आपिएल २०२४ मा गम्भीरले एक मेन्टोरका रूपमा टिमको रथलाई राम्ररी चलाए र उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले।
कोलकत्ता सबैभन्दा पहिले २०१२ मा आइपिएल च्याम्पियन बनेको थियो। त्यो बेला गम्भीर टिमका कप्तान थिए।
दोस्रोपटक २०१४ मा च्याम्पियन बनेको बेला पनि उनी नै टिमको कप्तान थिए।
तेस्रोपटक कोलकत्ता च्याम्पियनबन्दा गम्भीर टिमका मेन्टोर छन्।
हुनत गम्भीरकै कप्तानीमा कोलकत्ता तीनपटक प्लेअफसम्म पुगेको थियो। तर, यी प्रतियोगितमा फाइनलसम्मको यात्रा तय गर्नबाट चुकेको थियो।
यसअघि गम्भीर २०२२ र २०२३ मा मेन्टोरका रूपमा लखनऊ टिमलाई पनि फाइनल र तेस्रो स्थानसम्म पु¥याउन सफल भएका थिए।
गम्भीर भारतीय टिमको कोच बन्ने चर्चा चलिरहेको बेला २०२४ को आइपिएलमा कोलकत्ता च्याम्पियन बनेको छ।
आइपिएलको उपाधि कब्जा गरेपछि यतिबेला गम्भीरको केही पुरानो सफलताहरूको पनि चर्चा सुरू भएको छ।
२००७ मा खेलिएको टि–२० विश्वकपमा गम्भीरको भूमिका महत्वपूर्ण रहेको थियो। त्यो विश्वकपमा भारतको तर्फबाट सबैभन्दा बढी रन बनाउने खेलाडी थिए, गम्भीर।
२०११ मा भारत विश्व विजेता हुँदा पनि उनले ठूलो योगदान दिएका थिए।
गम्भीरले २०११ को एकदिवसीय विश्वकपमा ९ इनिङमा ४३.६६ को औसत र ८५.०६ को स्ट्राइक रेटले ३९३ रन बनाएका थिए। जसमा ४ अर्धशतक सामेल थियो।
गम्भीरले पहिलो ओभरदेखि ४२ औं ओभरसम्म क्रिजमा डटिरहे। र, ९७ रनको शानदार इनिङ खेलेर टिमलाई जितसम्म पु¥याएका थिए।
यो जितको श्रेय कतिपयले कप्तान महेन्द्रसिंह धोनीलाई दिँदा गम्भीर खुलेर आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।
Leave a Reply