काठमाडौं- त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० श्रृंखलाको उपाधि नेदरल्यान्ड्सले हात पारेको छ।
श्रृंखलाको फाइनल खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उपाधि हात पारेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको फाइनल खेलमा नेपालले जितका लागि प्रस्तुत गरेको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेटको क्षतिमा पूरा ग¥यो।
लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सका लागि माइकेल लेभिटले सर्वाधिक ५४ रन बनाए। त्यस्तै म्याक्स ओ–डोउडले २२, विक्रमजित सिंहले २९, साइब्रान्ड एन्जलबेचले ४८ र कप्तान स्कोट इडवार्डसले २ रनको योगदान दिए।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ४ विकेट लिए। करण केसी र अविनास बोहराले समान १–१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन जोडेको थियो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४७ रन बनाए।
कुशल भुर्तेलले २०, कप्तान रोहित पौडेलले २५, गुल्शन झाले ३४ र कुशल मल्लले २६ रनको योगदान दिए।
श्रृंखलाको सुरूको दुई खेल हारेको नेपालले अन्तिम दुई खेल जितेको थियो।
नेरल्यान्ड्स र नामिबियाविरूद्धको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि दुवै टिमले समान १–१ अंक पाएका थिए।
योसँगै नेदरल्यान्ड्स शीर्ष स्थानमा पुग्दा नामिबिया तीन अंकसहित तेस्रो स्थानमा सीमित भएको थियो।
Leave a Reply