टि–२० विश्वकप : भारतसँग अस्ट्रेलिया पराजित

जनकपुरधाम- अस्ट्रेलियालाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकपको अन्तिम सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार राति वेस्टइन्डिजको सेन्ट लुसियामा भएको खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

जितका लागि २०६ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रनमै समेटिएको थियो।

अस्ट्रेलियाका लागि ट्राभिस हेड र कप्तान मिचेल मार्सबाहेक अरू कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

हेडले ७६ र मार्सले ३७ रन बनाए। ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले ११ रन बनाए।

भारतका लागि अर्सदीप सिंहले ३ विकेट लिए। त्यस्तै कुलदीप यादव, जसप्रित बुमराह र अक्षर पटेलले १–१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रनको योगफल खडा गरेको थियो।

भारतका लागि कप्तान रोहित शर्माले आक्रामक ब्याटिङ गर्दै ९२ रन बनाए। रोहितले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गरे।

त्यस्तै सूर्यकुमार यादव ३१, शिवम दुबे २८, हार्दिक पान्ड्या २७ र रिसव पन्तले १५ रन बनाए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोइनिसले २–२ तथा जौस हेजलवुडले १ विकेट लिए।

यो जितसँगै सुपर–८ मा अपराजित रहेको भारतले तीन खेलबाट ६ अंक जोड्दै समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ।

२७ जुनमा भारतले सेमिफाइनलमा इंग्ल्यान्डसँग सामना गर्नेछ।

भारतसँग पराजित भएसँगै सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले अब अफगानिस्ता र बंगलादेशबीच भइरहेको खेलको नतिजा कुर्नुपर्ने भएको छ।

अफगानिस्तानले बंगलादेशलाई पराजित गरे सेमिफाइनलसम्म पुग्ने अस्ट्रेलियाको यात्रामा विराम लाग्ने छ।

अफगानिस्तानले सुपर–८ को खेलमा विश्वविजेता अस्ट्रेलियालाई पराजित गरिसकेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *