जनकपुरधाम- आइसिसी टि–२० विश्वकपअन्तर्गत सुपर–८ चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानविरूद्ध सहज जित निकालेको छ।
वेस्टइन्डिजको बार्बाडोस खेल मैदानमा भारतले अफगानिस्तानविरूद्ध ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो।
भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा सबै विकेट गुमाउँदै १३० रनमात्र बनाउनसक्यो।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन बनाए।
नजिबुल्लाह जाद्रानले १९ तथा गुलबदीन नैबले १७ रनको योगदान दिए।
भारतका लागि अर्शदीप सिंह र जसप्रित बुमराहले ३–३ विकेट लिए।
कुलदीप यादवले २ तथा अक्षर पटेल र रवीन्द्र जेडेजाले १–१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १८१ रन बनाएको थियो।
भारतका लागि सूर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५३ रन बनाए।
हार्दिक पान्ड्याले ३२ र विराट कोहलीले २४ रन बनाए।
त्यस्तै ऋषभ पन्त २०, अक्षर पटेल १२ र शिवम दुबेले १० रनको योगदान दिए।
अफगानिस्तानका लागि फजलहक फारुकी र रासिद खानले ३–३ तथा नवीनउल हकले १ विकेट लिए।
भारतले सुपर–८ चरणको दोस्रो खेल शनिबार बंगलादेशविरूद्ध र अफगानिस्तानले अस्ट्रेलियाको सामना गर्नेछ।
Leave a Reply