जनकपुरधाम- टि–२० विश्वकपमा नेपाली टोलीका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन कारबाहीमा परेका छन्।
खेलको आचारसंहिताविपरित काम गरेको भन्दै हसनलाई आइसिसीले कारबाही गरेको हो।
हसन बंगलादेशका तीब्र गतिका बलर हुन्। नेपालविरूद्धको खेलमा चार विकेट लिएका उनी ‘प्लेयर अफ द म्याच’ पनि भएका थिए।
आइसिसीले हसनलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरेको छ।
नेपालको इनिङको तेस्रो ओभरमा हसनले कप्तान पौडेलसँग भनाभन गरेका थिए।
ब्याटरको एकाग्रता बिगार्न अधिकांश बलरले यसो गरे पनि हसनले आचारसंहिता तोडेको पुष्टि भएपछि आइसिसीले कारबाही गरेको हो।
उनले कप्तान पौडेलको शरीरमा हात लगाएर पुष्टि भएको छ।
आइसिसीको खेलाडी आचारसंहिताअनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइँदैन।
ब्याटिङका लागि कप्तान पौडेललाई बंगलादेशका बलर हसनले आफ्नो बलमा सट हान्न चुनौती दिएका थिए।
यही विषयलाई लिएर दुवै जनाबीच नोकझोक भएको थियो।
हसनले हातै हालेर पौडेललाई धकेल्न खोजेका थिए।
Leave a Reply