जनकपुरधाम- हमासले गाजामा बन्धक बनाएका थप दुई जना जीवितै रहेको पुष्टि हुने भिडियो सार्वजनिक गरेको छ।
बन्धक बनाइएकामध्ये इजरायलका ओम्नी मिरानले आफू २०२ दिनदेखि हमासको नियन्त्रणमा रहेको बताएका छन्।
अर्का बन्धक अमेरिकी नागरिक किथ सिगलले पनि हालैको लामो बिदाबारे उल्लेख गरेका छन्। त्यसले यो भिडियो हालसालै लिइएको संकेत गर्छ।
हमासले बन्धक बनाएको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीको पछिल्लो अवस्था भने अझै प्रष्ट हुन सकेको छैन।
भिडियोमा देखिएका दुवै जनालाई हमासले अक्टोबर ७ मा इजरायलमा गरेको घातक आक्रमणका क्रममा नियन्त्रणमा लिएको थियो।
भिडियोबारे प्रतिक्रिया जनाउँदै बन्धक बनाइएकाका परिवारले उनीहरूले सकुशल फिर्ताीका लागि आफूहरूले संघर्ष जारी राख्ने बताएका छन्।
उनीहरूले इजरायली सरकारसँग बन्धकहरूलाई मुक्त गर्ने सम्बन्धी नयाँ सम्झौता गर्न आग्रहसमेत गरेका छन्।
हमासले युद्धविरामका लागि इजरायलले अघि सारेको प्रस्ताव आफूले अध्ययन गरिरहेको बताइरहँदा बन्धकहरूको नयाँ भिडियो सार्वजनिक भएको हो।
युद्धविरामका लागि मध्यस्थता गरिरहको इजिप्टले अवरूद्ध वार्ता अघि बढाउनका लागि ताजा जानकारीहरू सहितको प्रतिनिधिमण्डल इजरायल पठाएको विवरण सञ्चारमाध्यमहरूमा आएका छन्।
इजरायलका विदेशमन्त्रीले बाँकी बन्धकहरूलाई मुक्त गर्ने सहमति भए इजरायलले गाजाको दक्षिणी सहर रफाहमा गर्ने तयारी गरिरहेको स्थल कारबाही रोकिन सक्ने शनिबार बताएका थिए। (बिबिसीबाट)
Leave a Reply