काठमाडौं- सुदूरपश्चिम प्रदेस सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन्।
बिहीबार विश्वासको मत लिने गरी प्रदेससभा सचिवालयमा उनले मंगलबार प्रस्ताव दर्ता गराएका हुन्।
दिउँसो ३ बजे बस्ने प्रदेससभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने सूचना प्रदेससभा सचिवालयले निकालेको छ।
केन्द्रमा सत्तासमीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ।
५३ सदस्यीय प्रदेससभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ। प्रदेससभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १८ सांसद छन्।
मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टीका ५ सांसदलाई मन्त्री बनाएका छन्।
तर, सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को विवाद छ।
मन्त्री नभएका यो पार्टीका दुई सांसद मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने पक्षमा देखिएका छन्।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र प्रदेस संसदीय दलका नेताले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने नदिने विषयमा अलग–अलग ह्विप जारी गरेका छन्।
अध्यक्ष श्रेष्ठ सुदूरपश्चिम सरकारमा सहभागी नहुने पक्षमा छिन् भने संस्थापक नेता रेशम चौधरी भने मुख्यमन्त्री शाहलाई समर्थन गर्ने अडान लिएका छन्।
सुदूरपश्चिम सरकारलाई लिएर पार्टीमा विवाद चलिरहेकै बेला अध्यक्ष श्रेष्ठले कृषि राज्यमन्त्रीसमेत रहेकी समानुपातिक सांसद इन्दिरा गिरीलाई पदमुक्त गरेको पत्र सुदूरपश्चिम प्रदेससभा सचिवालयमा पठाएकी छन्।
सरकारमा सहभागी नहुने निर्देशन अटेर गरेको र स्पष्टीकरणको जवाफसमेत नदिएको भन्दै सांसद गिरीलाई पदमुक्त गरिएको पत्र उनले प्रदेससभा सचिवालयमा पठाएकी हुन्।
गिरीलाई कारबाही भए प्रदेससभामा ५१ सांसदमात्र हुनेछन् र मुख्यमन्त्री शाहलाई बहुमतका लागि २६ जनाको समर्थन चाहिन्छ।
राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीका साथै नागरिक उन्मुक्ति पार्टीका सबै सांंसदले समर्थन गरे शाहको पक्षमा २६ मत पुग्छ।
नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक खुसीराम डगौरा थारूले प्रदेससभा बैठकमा उपस्थित भएर मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेका छन्।
तर, यो पार्टीका कैशाल चौधरी र टीका थापा प्रदेससभा बैठकमा अनुपस्थित हुने सम्भावना रहेको बताइएको छ।
चौधरी र थापा अध्यक्ष श्रेष्ठ निकट मानिन्छन्। यी दुई सांसद प्रदेससभा बैठकमा उपस्थित नभए मुख्यमन्त्री शाह नेतृत्वको सरकार ढल्ने निश्चित छ।
Leave a Reply