जनकपुरधाम- जिल्ला प्रहरी कार्यालय धनुषाबाट सरूवा भइसकेका प्रहरी अधिकृत कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकताविरूद्धको उजुरी छानबिन गर्ने अनुसन्धान अधिकृत रहेको खुलेको छ।
सिरोहियाविरूद्ध परेको उजुरी छानबिन गर्ने अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काको धनुषाबाट सरूवा भइसकेको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध तथा अनुसन्धान शाखामा कार्यरत खड्कालाई प्रहरी प्रधान कार्यालयले गत वैशाख २६ गते सरूवा गरेको हो।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको प्रहरी निरीक्षकहरूको सरूवा सूचीअनुसार उनलाई सरूवा गरेर नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम विकास शाखा भरतपुर चितवन पठाइएको छ।
प्रहरी प्रधान कार्यालयले सरूवा गरिसके पनि खड्का हालसम्म जिल्ला प्रहरी कार्यालय धनुषामै बसेर काम गरिरहेका छन्।
धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले प्रहरी प्रधान कार्यालयबाट भएको नियमित सरूवामा प्रहरी निरीक्षक खड्काको पनि सरूवा भएको बताए।
यद्यपि सरूवा भए पनि सम्बन्धित कार्यालयमै काम गर्न मिल्ने उनको भनाइ छ।
‘एसपी साहेबको दरबन्दी यहाँ होइन, मेरो पनि छैन,’ अवाले भने,‘सरूवा भए पनि काम गर्न मिल्छ, मज्जाले मिल्छ।’
नागरिकता प्रकरणमासमेत अनुसन्धान गरेका खड्काले आफ्नो अनुसन्धान प्रतिवेदनमा सिरोहियालाई पक्राउ गर्नुपर्ने ६ वटा आधार र कारणहरू उल्लेख गरेका छन्।
Leave a Reply