काठमाडौं- सत्ता गठबन्धनको बैठक स्थगित भएको छ।
सोमबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको गठबन्धनको बैठक स्थगित भएको हो।
गठबन्धन दलहरूबीच समसामयिक विषयमा छलफल गर्न भन्दै बिहान ८ बजे प्रधानमन्त्री निवासमा बैठक बोलाइएको थियो।
तर, बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिनसम्बन्धी विधेयकको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने भनिएको थियो।
सत्ता गठबन्धनको बैठक स्थगित भएर माओवादी केन्द्र र नेकपा एमालेको छुट्टाछुट्टा बैठक सुरू भएको छ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्न प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक बोलाएका हुन्।
बैठकमा प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे शीर्ष नेता र दलहरूसँग भएको छलफबारे ब्रिफिङ गर्ने बताइएको छ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सचिवालयको आकस्मिक बैठक बोलाएको छ।
अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा सचिवालय बैठक बसिरहेको छ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बसिरहेको एमालेका एक नेताले जानकारी दिए।
यसअघि आइतबार एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
भेटमा संक्रमणकालीन न्यायासम्बन्धी विधेयकबारे छलफल भएको थियो।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आइतबार दुईपटक छलफल भएको थियो।
अनि झस्कियो कांग्रेस
संक्रमणकालीन विधेयकमा पछिल्लो अडानबाट प्रमुख प्रतिपक्षी दल एमाले ‘ब्याक’ भएपछि सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस झस्किएको छ।
शनिबारसम्म एमालेले लिँदै आएको अडान छाडेर कांग्रेसभन्दा अघि गएर सहमतिको प्रस्ताव गरेपछि कांग्रेस झस्किएको हो।
यसबीचमा माओवादी र एमालेबीच लगतार भएका वार्ताले कांग्रेसलाई संशकित तुल्याएको कांग्रेस नेताहरूको भनाइ छ।
राष्ट्रियसभा अध्यक्षलाई लिएर सत्तारुढ दुई दल कांग्रेस र माओवादीको सम्बन्धमा चिसोपना आएपछि एमाले सक्रिय भएको हो।
एमाले उपाध्यक्ष आइतबार जनकपुर पुगेर सत्ता गठबन्धन जुनसुकै बेला पनि टुट्नसक्ने प्रतिक्रिया दिएका थिए।
कांग्रेस महासमिति बैठकले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेपछि कांग्रेस–माओवादीको सम्बन्धमा चिसोपना आएको छ।
माओवादी केन्द्रले एमालेका नेताहरूलाई पनि बोलाएर विधेयक टुंगो लगाउनेगरी अन्य राजनीतिक विषयमा पनि कुराकानी गरेको स्रोतले जनाएको छ।
राष्ट्रियसभा अध्यक्ष, संक्रमणकालीन विधेयकलगायतका अन्य राजनीतिक विषयमा सहमति जुटे कांग्रेसइतरको गठबन्धन बन्नसक्ने बताइएको छ।
फेरिएको राजनीतिक घटनाक्रमपछि माघ १० कै गठबन्धन ब्युँतिने सम्भावना बढेको पनि आकलन भइरहेको छ।
कांग्रेसलाई बाहिर राखेर माओवादी केन्द्र, एमाले, जसपा, रास्वपालगायतको गठबन्धन बन्नसक्ने कतिपयको अनुमान छ।
स्रोतका अनुसार एमालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री छाडेर पार्टी एकताको प्रस्ताव गरेको छ।
यद्यपि यसको पुष्टि भने हुनसकेको छैन।
आइतबार नै फिनल्यान्ड जान लागेका परराष्ट्रमन्त्री एनपी साउदलाई फोन गरेर प्रधानमन्त्री प्रचण्डले भ्रमण रद्द गराइदिएका छन्।
आइतबार बेलुका नै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी सबै मन्त्रीलाई बोलाएर छलफल गरेका थिए।
छलफलका क्रममा उनले परिस्थिति गम्भीर रहेको संकेत गरे।
Leave a Reply