काठमाडौं- सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेस यतिबेला ‘समुदायमा कांग्रेस’ अभियानमा जुटेको छ।
केन्द्रीय नेतादेखि प्रदेस र जिल्ला तहका नेताहरू पार्टीले खटाएको ठाउँमा कार्यकर्तासँग सोझै भेटेर उनीहरूका गुनासा सुन्ने काम गरिरहेका छन्।
अभियानतहत वडा तहसम्मै पुगेका कांग्रेस नेताहरू कार्यकर्ताका प्रश्न र गुनासाको भारीमा थिचिएका छन्।
कार्यकर्ताहरूको यस्तै गुनासो भारीमा थिचिएका छन्, नेता शेखर कोइराला।
अभियानअन्तर्गत सोमबार झापाको दमक पुगेका कोइरालालाई अन्तरक्रियाका क्रममा कार्यकर्ताहरूको तिखो प्रश्नको सामना गर्नुपर्यो।
आफ्नो धारणा राख्ने क्रममा अधिकांश कार्यकर्ताले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी विचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिँड्न नसक्ने चेतावनी दिए।
आफ्नै साथी मार्नेसँग कसरी हिँड्ने भन्दै उनीहरूले कोइरालालाई प्रश्न गरे।
‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने?,’ एक सहभागीले नेता कोइरालालाई प्रश्न गरे।
कार्यक्रमका सहभागीहरूले नेतृत्वको गतिविधिबारे पनि प्रश्न उठाएका थिए। एउटै व्यक्ति धेरै समयसम्म नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त हुन नसकेको उनीहरूको भनाइ थियो।
जवाफमा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टीभित्र छलफल हुने र अब कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने दाबी गरे।
Leave a Reply