जनकपुरधाम- विश्वमा प्रत्येक आठ जनामध्ये एक जनामा मोटोपना भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
द लान्सिट जर्नलमा हालसालै प्रकाशित एउटा शोधपत्रका अनुसार सन् २०२२ मा झन्डै ८८ करोड वयस्क र १५ करोड ९० लाख बालबालिकामा मोटोपनाको समस्या देखिएको छ।
सन् १९९० को तुलनमा बालबालिकामा मोटोपना हुने दर चार गुनाले अनि वयस्कहरूमा दुई गुनाले बढेको अनुसन्धानले देखाएको छ।
मोटापन बढेको उच्च गतिप्रति अनुसन्धानकर्ताहरूले आश्चर्य व्यक्त गरेका छन्।
अमेरिकामा ४० प्रतिशत मानिसको वजन धेरै
वजन धेरै भएका मानिसहरूको अनुपात अमेरिकामा कुल जनसंख्याको ४० प्रतिशत पुगिसकेको छ।
क्यारिबिअन तथा प्यासिफिक क्षेत्रका टापु देशहरूमा जनसंख्याको ६० प्रतिशत मानिसमा मोटोपनाको समस्या देखिएको बताइएको छ।
सबभन्दा धेरै मोटोपना भएका महिला टोङ्गा र अमेरिकन सामोआमा अनि पुरुष चाहिँ अमेरिकन समोआ र नाउरूमा पाइएका छन्।
ती देशमा ७०–८० प्रतिशत वयस्क मानिसहरूमा मोटोपना छ।
द लान्सिटमा प्रकाशित अध्ययनअनुसार पुरुषहरूमा मोटोपनाको अनुपात हेर्दा संयुक्त राज्म अमेरिका विश्वमा दसौं स्थानमा रहेको छ भने महिलाहरूको हकमा ३६ औं स्थानमा छ।
यो सूचीमा पुरुषहरूमा कम मोटोपना भएका देशहरूमध्ये भारत २१ औं अनि चीन ५२ औं स्थानमा छन्।
महिलाको हकमा भारत १९ औं अनि चीन ११ औं स्थानमा छन्।
वरिष्ठ अनुसन्धानकर्ता तथा इम्पेरिअल कलेज लन्डनका प्राध्यापक मजिद इजाटीले कैयौं टापु देशहरूमा स्वास्थ्यकर एवं अस्वास्थ्यकर खानाको उपलब्धता मुख्य समस्या देखिएको बिबिसीलाई बताएका छन्।
संसारभरिका वर्षौंको तथ्यांक अध्ययन गरिरहेका प्राध्यापक इजाटीले मोटोपना फैलिएको गतिले आफू छक्क परेको बताए।
अहिले धेरै देशका निम्ति मोटोपना समस्या बन्दै गएको छ भने कम वजनका समस्या झेल्ने देशहरूको संंख्या चाहिँ घट्दो छ।
कम वजन वा कुपोषण भएका वयस्कहरूको संख्या करिब ५० प्रतिशतले घटेको अनुसन्धानमा उल्लेख छ। तर पनि केही गरिब समुदायमा कम वजनको समस्यमा गम्भीर रहेको उसले औँल्याएको छ।
नियन्त्रण आवश्यक
मोटोपनाका कारण कैयौं स्वास्थ्यसम्बन्धी गम्भीर समस्या उत्पन्न हुनसक्छन्। तिनमा मुटुरोग, टाइप–टू डायाबिटिज र केही प्रकारका क्यान्सर पर्छन्।
द लान्सिटमा छापिएको अनुसन्धानले सन् १९९० देखि सन् २०२२ सम्मको तथ्यांक केलाएको छ। अनुसन्धानकर्ताहरूले यो अवस्था नियन्त्रण गर्न थप कदम चल्न आग्रह गरेका छन्।
स्वास्थ्यकर खानालाई सुलभ बनाउन अनि शारीरिक गतिविधि बढाउन प्रोत्साहन गर्न विश्व स्वास्थ्य संगठनले आह्वान गरेको छ।
डब्लूएचओका महानिर्देशक टेड्रस एड्हानम गेहब्रेयसस भन्छन्,‘यो नयाँ अध्ययनले मोटोपनाबाट जोगिन जीवनको प्रारम्भिक कालदेखि वयस्क हुँदासम्म नै उचित आहार, शारीरिक क्रियाकलपा र हेरचाह महत्वपूर्ण हुने औँल्याएको छ।’
अध्ययनमा सहभागी अनुसन्धानकर्ता मद्रास डायबिटिज रिसर्च फाउन्डेसनकी डा.मुहा प्रदीपाले धेरै र कम वजनका समस्यालाई अहिले विश्वले झेलिरहेका अन्य चुनौतीले झन् बढाइदिने उल्लेख गरिन्।
डब्लूएचओको समन्वयमा १ हजार ५ सय अनुसन्धानकर्ताहरूले विश्वभिरका पाँच वर्ष वा सोभन्दा माथिका २२ करोड मानिसको वजन र उचाइ अध्ययन गरेर यो प्रतिवेदन तयार पारिएको हो।
उनीहरूले वजन र उचाइको अनुपात नाप्ने ‘बडी मास इन्डेक्स’ (बिएमआइ) को प्रयोग गरेका थिए।(बिबिसीबाट)
Leave a Reply