विदेशीलाई गोप्य सूचना बेच्ने एजेन्ट देखाउन गृहमन्त्रीलाई कांग्रेसको चुनौती

काठमाडौं- नेपाली कांग्रेसले देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले ‘देशको गोप्य सूचना विदेशलाई बेच्ने एजेन्ट यही सदनभित्र रहेको’ बताएपछि कांग्रेसले यस्तो चुनौती दिएको हो।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य बद्री पाण्ेडेले गोप्य सूचना विदेशीलाई बेच्नेमाथि कारबाही गर्न गृहमन्त्री लामिछानेलाई चुनौती दिए।

लामिछानेले देशको गोप्य सूचना विदेशीलाई बेचेको भन्दै सांसदमाथि आरोप लगाएकाले छानबिन गरी दोषी भए कारबाही गर्न र लान्छना लगाएको भए गृहमन्त्रीलाई कारबाही गर्नुपर्ने पाण्डेले बताए।

‘राष्ट्रिय सूचना बेच्नेहरू यही सदनमा छन् भन्नुभएको छ माननीय गृहमन्त्रीज्यू, को हो त्यो देखाउनुस् उसलाई सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्नेछौं,’ उनले भने,‘होइन भने तपाईंलाई गलहत्याउने त्यो कामबाट हामी चुक्नै छैनौं।’

पाण्डेले गृहमन्त्रीले लगाएका आरोप सत्य हुन् प्रमाणित गरेर देखाउन नभए संसदको रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरे।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको दाबी गर्दै पाण्डेले सदनमा उठेको प्रश्नको साटो उनी बर्बराउन थालेको आरोप लगाए।

‘हामीले उठाएका प्रश्नको जवाफ नदिइ उहाँ(गृहमन्त्री) बर्बराउन थाल्नुभएको छ,’ उनले भने, ‘संसदीय समिति बनाएर छानबिन गरौं। दोषी नभए उहाँले उन्मुक्ति पाउनु हुन्छ, दोषी भए उहाँविरूद्ध पनि पक्राउ पूर्जी जारी गरिनुपर्छ।’

सहकारी ठगी प्रकरणमै मुछिएर राप्रपाकी सांसद गीता बस्नेतविरूद्ध पक्राउ पूर्जी जारी हुँदा लामिछानेलाई किन छाडिएको भनेर उनले प्रश्न गरे।

पाण्डेले गृहमन्त्री लामिछानेले पार्टी उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामाथि लगाएको आरोपमाथि छानबिन गर्न आफूहरू तयार रहेको बताए।

‘कांग्रेसका उपसभापति र महामन्त्रीको नामै किटेर टिओआर लेख्नुपर्ने हो कि, कांग्रेसकै नाम लेख्नुपर्ने हो, हामी तयार छौं,’ उनले भने,‘छानबिनको समय पनि तोक्नुस् र छानबिनबाट दोषी भए कांग्रेसका को–कोलाई कारबाही गर्नुहुन्छ गर्नसक्नुहुन्छ।’

गृहमन्त्री लामिछानेले संसदमा सम्बोधन गर्दा सहकारी ठगी गर्नेलाई मात्र नभइ, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसी बोका, बाख्रा पाल्नेमाथि पनि छानबिन गरेर संसदबाहिर पठाउनुपर्ने धारणा राखेका थिए।

‘दुई–तीनवटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट संसदबाट हटाऔं। त्यो देशको मन्त्री होस् वा पार्टीको महामन्त्री,’ उनले भनेका थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *