वाराणसीबाट मोदीको ह्याट्रिक, घट्यो मतान्तर

जनकपुरधाम- भारतमा सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएका छन्।

उत्तर प्रदेसको वाराणसी लोकसभा सिटबाट उनी तेस्रोपटक निर्वाचित भएका हुन्।

अघिल्लो दुईपटक भएको निर्वाचनको तुलनामा यसपालि मोदी कम मतान्तरले विजयी भएका छन्।

उनले प्रतिस्पर्धी भारतीय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाख मतान्तरले पराजित गरेका हुन्।

यसपटक मोदीले सन् २०१९ मा प्राप्त गरेको मतभन्दा कम मत पाएका छन्।

अघिल्लो चुनावमा उनले ६ लाख ७४ हजार प्राप्त गरेका थिए। यसपटक उनले ६ लाख ११ हजार ४३९ मत प्राप्त गरेका छन्।

अघिल्लो निर्वाचनमा कांग्रेसका रायले १ लाख ५२ हजार ५४८ मत पाएकोमा यसपालि उनले ४ लाख ५९ हजार ८४ मत ल्याएका छन्।

यसपटकको लोकसभा निर्वाचनमा मोदीले रायलाई १ लाख ५२ हजार ३५५ मतले पराजित गरेका छन्।

सत्तारुढ भाजपाले सबैभन्दा बढी भरोसा गरेको उत्तर प्रदेसमा क्षति बेहोर्नुपरेको छ।

अघिल्लोपटक ७० भन्दा बढी सिट जितेको उत्तर प्रदेसमा भाजपाले यसपालि लगभग पचास प्रतिशतको क्षति बेहोर्नुपरेको छ।

उत्तर प्रदेसमा अखिलेस यादव नेतृत्वको समाजवादी पार्टी ३० भन्दा बढी सिटमा अग्रता लिएको छ।

राम मन्दिर निर्माणलाई चुनावी मुद्दा बनाए पनि भाजपालाई धेरै लाभ पाउन नसकेको देखिएको छ। राम मन्दिर निर्माण भएको लोकसभा सिट फैजाबाद (अयोध्या) सिटमा समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।

त्यस्तै भाजपाकी चर्चित अनुहार केन्द्रीय मन्त्री स्मृति इरानी उत्तर प्रदेसको अमेठी सिटबाट पराजित हुने लगभग पक्का झैं देखिएको छ। यो सिटबाट कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

त्यस्तै उत्तर प्रदेसकै रायबरेली लोकसभा सिटबाट भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी फराकिलो मतान्तरले अग्रता लिएका छन्।

केरलको बायनाड लोकसभा सिटबाट समेत उम्मेदवारी दिएका उनले अग्रता लिएका छन्।

भाजपा नेतृत्वको एनडिए गठबन्धन हालसम्म २९६ र कांग्रेसलगायतका दलहरूको ‘इन्डिया’ गठबन्धले २३० सिटमा अग्रता कायम गरेको छ।

अघिल्लो निर्वाचनमा भाजपा एक्लैले बहुमतको संख्याभन्दा बढी जिते पनि यसपालि यो दल २४२ सिटमा अग्रता कायम गरेको छ।

५४३ सदस्यीय लोकसभामा सरकार बनाउन २७२ को संख्या अनिवार्य हुन्छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *