जनकपुरधाम- रूसका राष्ट्रपति व्लादिमीर पुटिन उत्तर कोरिया पुगेका छन्।
२४ वर्षको अन्तरालमा उत्तर कोरियाको भ्रमण गर्ने पुटिन रूसका पहिलो राष्ट्रपति हुन्।
उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले विमानस्थलमा पुटिनलाई स्वागत गरेका छन्।
उत्तर कोरियाको राजधानी प्योङयाङमा पुटिनलाई स्वागत गर्न सडक किनारमा ठूलो संख्यामा स्थानीय जम्मा भएका थिए।
उनीहरूले रूस र उत्तर कोरियाको झन्डा लिएका थिए।
औपचारिक स्वागत समारोहका लागि राष्ट्रपति पुटिन र उन प्योङयोङस्थित सेन्ट्रल स्क्वायर पुगेका थिए। उक्त अवसरमा उनकी बहिनी किम यो जोङ पनि उपस्थित थिइन्।
औपचारिक स्वागत समारोह चलिरहँदा सेन्ट्रल स्क्वायर स्थानीय मानिसले भरिभराउ थियो।
रूसी राष्ट्रपति पुटिनलाई स्वागत गर्न आएका सैनिकको टुकडी पनि त्यहाँ उपस्थित थियो।
पुटिनको भ्रमणका लागि उत्तर कोरियाली राष्ट्रपति उनले राज्यको व्यापक स्रोत परिचालन गरेको बताइएको छ।
चीनले पुटिन र किमको यो भेटलाई स्वागत गरेको छ। पुटिनले एक महिनाअघि चीन भ्रमण गरेका थिए। (बिबिसीबाट)
Leave a Reply