राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते!

काठमाडौं- राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ मा गर्नेगरी सम्भावित कार्यसूची तय गरिएको छ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि फागुन २० मा सकिन लागेकोले नयाँ अध्यक्ष चयन गर्न निर्वाचनको कार्यसूची तय गरिएको हो।

फागुन २० गते अध्यक्ष तिमिल्सिनासहित २० जना राष्ट्रियसभा सदस्यहरूको पदावधि सकिँदैछ।

राष्ट्रियसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुनका लागि तयार गरेको सम्भावित कार्यसूचीबमोजिम अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने तय भएको छ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पदावधि सकिएलगत्तै निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिएका छन्।

माघ १० गते भएको निर्वाचनबाट राष्ट्रियसभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन्। सरकारको सिफारिसमा एक जना राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ।

अब दलको हैसियतबमोजिम कार्यव्यवस्था तथा परामर्श समितिमा सदस्य पनि थपघट हुनेछन्।

एकतिहाइ सदस्य निर्वाचित भएर आएपछि माओवादी केन्द्र राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बनेको छ।

त्यस्तै अहिले तेस्रो स्थानमा रहेको कांग्रेसले दोस्रो ठूलो दलको हैसियत पाएको छ।

सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले भने १० सदस्यसहित तेस्रो स्थानमा खुम्चिएको छ।

सचिवालयले प्रकाशित गरेको कार्यसूचीबमोजिम फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गरिनेछ। संघीय संसदको हिउँदे अधिवेशन सोमबारदेखि सुरू हुँदैछ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *