रामकुमार शर्माले छाडे माओवादी

जनकपुरधाम- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

माओवादी पार्टी पार्टी नभएर गुटै गुटका महासंघको रूपमा रूपान्तरण भएको भन्दै शर्माले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

उनले १० वर्षे जनुयुद्धका दौरान आफैंले उठाएको मुद्दाबाट पार्टी च्युत हुँदै गएको आरोपसमेत लगाएका छन्।

जनादेशविपरित विदेशी शक्तिको आडभरोसामा सरकारमै रहनका लागि पटकपटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाइ नेतृत्वले अन्ततः अँध्यारो दिशातर्फ धकेलेको आफूले महसुस गरेको शर्माले बताएका छन्।

सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गर्दै उनले भनेका छन्,‘प्रधानमन्त्री प्रचण्डज्यूले दैनिकजसो अभिव्यक्तिमा सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा जति नै गरे पनि माओवादी पार्टीका प्रमुख पदाधिकारीहरू विभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु। माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासंघको रूपमा रूपान्तरण हुनु। १० वर्षे जनयुद्धका दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेशविपरित विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटकपटक गठबन्धन फरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाइ अन्ततः अँध्यारो दिशातर्फ धकेलेको महसुस गरेको छु। यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन। तसर्थ आजकै मितिबाट म रामकुमार शर्मा नेकपा माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु।’

जनयुद्धका बेला आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको आत्मग्लानीमात्रै नभएर १७ हजार नेपालीले दिएको बलिदान र त्यसको जगमा भएको जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको उनले बताएका छन्।

शर्माले अहिले माओवादी पार्टीका नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाशपतालको फरक पाएको जिकिर गरेका छन्।

दुई दशकसम्म पार्टीमा रहेर इमानदारीपूर्वक काम गरेको उल्लेख गर्दै उनले माओवादी पार्टीकै कारण निर्वाचित संविधानसभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *