जनकपुरधाम- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देश विकासका लागि पार्टीका नेता तथा कार्यकता एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाली कांग्रेस धनुषाले जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।
जिल्लाका नेता तथा कार्यकर्ताहरूको गुनासो र सुझावपछि सम्बोधन गरेका उनले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस एकजुट हुनुको विकल्प नभएको बताए।
नेता कोइरालाले पार्टीभित्र केही समस्याहरू देखा परेको स्वीकार गर्दै ती समस्याहरू छलफल र संवादबाट समाधान गरिने उल्लेख गरे।
मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाटै सबै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
कोइरालाले पार्टीबाट रूष्ट भएका, निष्क्रिय नेता कार्यकर्तालाई पुनः पार्टीमा फर्किएर काम गर्न आग्रह गरे।
राजनीतिक अस्थिरताले देशको समृद्धि र विकासमा समस्या आएको बताउँदै उनले राजनीतिक स्थिरताका लागि राजनीतिक दलहरू गम्भीर हुनुपर्ने उल्लेख गरे।
Leave a Reply