‘रविजी गृहमन्त्री हो कि टिभी प्रस्तोता अलमलमा पर्‍यौं’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता भनेर आफूहरू अलमलमा परेको बताएका छन्।

गृहमन्त्री लामिछानेले संसदमा आफ्नो धारणा राखेलगत्तै पत्रकार सम्मेलनको आयोजना गरेर थापाले यस्तो बताएका हुन्।

समिति बनाउन गृहमन्त्रीले ‘धम्की’ नदिइ धमाधम बनाउनुपर्ने उनको भनाइ थियो।

थापाले एमालेले सहकारी प्रकरणको कुरा नउठाउने र गृहमन्त्रीले गिरीबन्धु टि–स्टेटको विषय नउठाउने समझदारी भएको जिकिर गरे।

आफू प्रस्तुतिगृहमा जन्मिएको बताउँदै प्रसुतिगृहदेखि हालसम्मको सबै विषयमा छानबिन समिति गठन गर्न गृहमन्त्रीलाई चुनौती दिए।

विदेशी सूचना बेच्नेबारे थाहा भएको गृहमन्त्री सोझै कारबाही किन नगरेको उनको प्रश्न थियो।

महाममन्त्री थापाले रास्वपाका एक जना सांसदले कांग्रेस नेताहरूको घरघरमा पुगेर लोकतान्त्रिक गठबन्धन बनाउन आग्रह गरेको उल्लेख गरे।

‘एक जना नेता जो पहिले कांग्रेसमै हुनुहुन्थ्यो, अहिले रास्वपामा हुनुहुन्छ, उहाँको (रवि लामिछाने) को अभिन्न मित्र पनि हुनुहुन्छ,’ थापाले भने,‘हामीलाई सँधै एमालेसँग बस्ने वातावरण नबनाइदिनुस्, लोकतान्त्रिक एलायन्स बनाऔं भन्नु भएको हो।’

उनले ठगीमा मुछिएका सहकारीहरूमा गृहमन्त्रीको संलग्नता भएकाले छानबिनका लागि आफूहरूले संसदीय समितिको माग गरेको बताए।

‘सूर्यदर्शनबाट उहाँले ऋण लिएको भन्ने प्रमाण छ, एक करोड चाहियो भनेर हस्ताक्षर गरेर मागेको प्रमाणै छ,’ थापाले भने,‘मेरो नाममा ऋण लिइएको छ तर त्यसमा मेरो संलग्नता छैन भन्नु हुन्छ। रवि लामिछानेको ठाउँमा हरि लामिछानेको भइदिएको भए अहिले प्रहरीले के गथ्र्यो?’
थापाले अरूको पनि खोलिदिने भनेर धम्की नदिन गृहमन्त्री थापालाई सुझाव दिए।

‘यो पनि खोलिदिन्छु, त्यो पनि खोलिदिन्छु, छानबिनका लागि समिति बनाइदिन्छु,’ उनले भने,‘गृहमन्त्रीले धम्की दिनुपर्दैन, सोझै समिति बनाएर छानबिन गरे भइहाल्यो नि।’

कुनै पनि उजुरीमा आफ्नो संलग्नता नभएको भनेर गृहमन्त्रीले झुटो बोलेको थापाले बताए।

थापाले गृहमन्त्रीले बोलिसकेपछि आफूहरूले बोल्न पाउनुपर्ने भने पनि सभामुखले समय नदिएको बताए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *