महोत्तरी एकडारा गाउँपालिका उपाध्यक्ष खातुनसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम- महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक ढलान कार्यमा अनियमितता भएको भन्दै विशेष अदालत काठमाडौंमा शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उपाध्यक्ष खातुनसहित तत्कालीन प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सब–इन्जिनियर सञ्जयकुमार मण्डलविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

त्यस्तै जानकी कन्स्ट्रक्सन मनरा सिसबा–५ महोत्तरीका प्रोपराइटर राकेशकुमार रायविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाको वडा नम्बर १ अन्तर्गतका स–साना सडक ढलान गर्नका लागि विनियोजन गरिएको रकमबाट गुणस्तर नै चेकजाँच नगरी सम्झौताबमोजिम कार्य सम्पन्न भएको भनी गलत प्रतिवेदन तयार पारी ८ लाख ६५ हजार १४५ रूपैयाँ भुक्तानी दिइएको अख्तियारले ठहर गरेको छ।

उपाध्यक्ष खातुनको हकमा स्थलगत अनुमगन गरी लागत अनुमानबमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनको आधारमा भुक्तानीसमेत भएकाले अख्तियारले कैद र जरिवानाको सजाय मागदाबी लिएको छ।

त्यस्तै सिंह, पाण्डे, महेन्द्र र सञ्जय तथा निर्माण व्यवसायी रायको हकमा पनि कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *