जनकपुरधाम- नेपाली कांग्रेसले मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ।
मंगलबार बसेको मधेस प्रदेस कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री लाई विश्वासको मत दिने निर्णय गरेको हो।
कांग्रेसका प्रदेस सांसद शेषनारायण यादवले मुख्यमन्त्री यादवको पक्षमा मतदान गर्न संसदीय दलको बैठकले निर्णय गरेको जानकारी दिए।
एमाले र माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले बुधबार प्रदेससभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
कांग्रेसले विश्वासको मत दिने निर्णय गरे पनि सरकारको नेतृत्वमा रहिरहन बहुमतको संख्या पु¥याउन मुख्यमन्त्री यादवलाई सकस पर्ने देखिएको छ।
१०७ सदस्यीय प्रदेससभामा बहुमतको संख्या पु¥याउन ५४ सांसदको समर्थन आवश्यक हुन्छ। सरकारको नेतृत्व गरिरहेको जसपा नेपालसँग प्रदेससभामा १९ र कांग्रेसका २२ सांसद छन्।
यो दुवै दल एक ठाउँमा उभिँदा समर्थन गर्ने प्रदेस सांसदहरूको संख्या ४१ मात्र हुन्छ।
प्रदेससभामा ८ सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारबारे आफ्नो धारणा हालसम्म सार्वजनिक गरेको छैन।
लोसपाले विश्वासको मत दिएको अवस्थामा पनि मुख्यमन्त्री यादवको पक्षमा ४९ सांसदमात्र हुनेछन्।
मुख्यमन्त्री यादव र उनको दल जसपा नेपालले विश्वास गरेको नेकपा(एकीकृत समाजवादी) सरकारमै सामेल भए पनि विश्वासको मत दिने वा नदिनेबारे प्रष्ट देखिएको छैन।
केन्द्रमा एमाले–माओवादी गठबन्धनको सरकारमा सामेल भएका कारण मधेसमा पनि एकीकृत समाजवादी यही गठबन्धनतर्फ जानसक्ने आकलन गरिएको छ।
एकीकृत समाजवादीले विश्वासको मत नदिएको अवस्थामा मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढल्ने निश्चितप्रायः देखिन्छ।
अर्कोतर्फ माओवादी केन्द्र–एमाले गठबन्धनले जनमत पार्टीको साथ लिएर मधेसमा नयाँ सरकार बनाउने कसरतमा जुटेको छ।
जनमत पार्टीलाई मुख्यमन्त्री दिनेगरी नयाँ सरकार बनाउने तयारी यो तीन दलले गरेको छ।
एमाले, माओवादी र जनमत पार्टीमात्रले गठबन्धन गरेको अवस्थामा पनि बहुमतको संख्या नपुग्ने देखिन्छ।
प्रदेससभामा सभामुखसहित एमालेका २५, जनमतका १२ र माओवादीका ९ सांसद छन्। यी तीन दलको सांसद संख्या ४५ (सभामुखबाहेक) हुन्छ। र, बहुमतको संख्या पु¥याउन ९ सांसद अपुग हुन्छ।
यो गठबन्धनले पनि सरकार बनाउन लोसपा र एकीकृत समाजवादीको समर्थन जुटाउन आवश्यक देखिन्छ।
केन्द्रमा बनेको समीकरणका हिसाबले ७ प्रदेस सांसद रहेको एकीकृत समाजवादीले एमाले–माओवादी गठबन्धनलाई समर्थन गरे पनि बहुमतका लागि दुई सांसद अपुग हुनेछन्।
लोसपा मुख्यमन्त्री यादवको पक्षमा मतदान गर्ने निर्णय गरेको खन्डमा एमाले–माओवादी–जनमत गठबन्धनले प्र्रदेससभामा १–१ सिट रहेको राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादी नेपालको साथ लिनुपर्ने हुन्छ।
Leave a Reply