जनकपुरधाम– मधेस प्रदेससभा बैठकमा तनाव उत्पन्न भएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेससभा बैठकमा तनाव उत्पन्न भएको हो।
बैठक सुरु भएसँगै जनमत पार्टीका प्रदेस सांसदहरुले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय शिलान्यासका क्रममा पार्टीका प्रदेस सांसद तथा तत्कालीन शिक्षामन्त्री महेस यादवलगायतमाथि भएको कुटपिटसम्बन्धी घटनाको छानबिन नभएको भन्दै बैठक चल्न नदिने बताएका थिए।
मुख्यमन्त्री यादवले घटनाको छानबिन हुने बताए पनि प्रक्रिया अगाडि नबढेकाले कुनै पनि हालतमा बैठक अघि बढ्न नदिने उनीहरुको भनाइ थियो।
जनमत पार्टीका सांसदको भनाइलाई सत्तारुढ दल नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले प्रतिवाद गरे।
ठाकुरले व्यक्तिगत विषय उठाएर संसद अवरोध गर्न नमिल्ने तर्क गरे।
एमाले सांसद ठाकुरले जनमत पार्टीका सांसदलाई प्रतिवाद गरेपछि नेपाली कांग्रेसका प्रदेस सांसदहरु पनि नाराबाजीमा उत्रिएका थिए।
जनमतसँगै कांग्रेसका सांसदहरु रोस्टमअगाडि पुगेर नाराबाजीमा उत्रिएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि प्रदेससभा बैठक स्थगित गरेका छन्।
१० मिनेटका लागि स्थगित भएको प्रदेससभा बैठक अझै सुरु हुनसकेको छैन।
Leave a Reply