जनकपुरधाम- बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन्।
संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै उनले जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्।
अर्को साता संसद विघटन हुने र त्यसपछि निर्वाचनको प्रक्रिया सुरू हुने बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।
बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको बताइएको छ।
संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ।
तोकिएको प्रक्रिया अपनाइएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव हुने थियो।
तर, सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचन प्रक्रियामा गएको बताइएको छ।
बेलायतको राजनीतिक वृत्तमा आगामी वर्ष जनवरीतिर निर्वाचन हुने अड्कलबाजी गरिए पनि प्रधानमन्त्री सुनकले अप्रत्यासित रूपमा निर्वाचनको मिति घोषणा गरेका हुन्।
उनले निर्वाचनको घोषणा गर्दै बेलायतको आर्थिक अवस्था मजबुत बन्दै गएको उल्लेख गरेका छन्।
कन्जरभेटिभ सरकारले राष्ट्रिय स्वास्थ्य सेवामा खर्चवृद्धि र शिक्षामा प्रगति हासिल गरेकोमा सुनकले गर्व महसुस भएको बताएका छन्।
विपक्षी दल लेबरका नेता केयर स्टारमरले आमचुनाव ‘देशले पर्खिरहेको क्षण’ भएको प्रतिक्रिया दिएका छन्।
उनले आमचुनाव देशमा झन् राम्रो परिवर्तनका लागि अवसर भएको पनि बताए।
बेलायतमा आमचुनाव प्रायः बिहीबार हुने गर्दछ। जुलाई ४ पनि बिहीबार नै परेको छ।(एजेन्सी)
Leave a Reply