काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा पराजित नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित’ नेता झलनाथ खनालले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेका छन्।
निर्वाचन बदर गर्नुपर्ने माग गर्दै खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारेका हुन्।
निर्वाचन बदर गरी पुनः निर्वाचन गराउन माग गर्दै खनालले दायर गरेको रिट बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज हुने फैसला सुनाएको हो।
२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा नेता खनाललाई नेकपा एमालेका महेश बस्नेतले पराजित गरेका थिए।
बस्नेतले २५ हजार ७५३ मत ल्याउँदा खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए।
मतगणनामा ‘धाँधली’ भएको भन्दै खनालले निर्वाचन बदर गरी पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।
रिट खारेज भएसँगै खनाललाई पराजित गरेका बस्नेतले वैधानिकता पाएका छन्।
खनालको रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भए पनि त्यसपछि सुनुवाइ हुनसकेको थिएन।
विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, मनोजकुमार शर्माको संवैधानिक इजलासले खनालले दायर गरेको रिटलाई खारेज गर्ने फैसला सुनाएको हो।
Leave a Reply