जनकपुरधाम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नयाँ दिल्ली जाने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रचण्ड पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अपराह्न नयाँ दिल्ली जान लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी नयाँ दिल्ली जाँदैछन्।
प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ ७ : १५ मा सपथग्रहण गर्ने कार्यक्रम रहेको छ।
भारतीय जनता पार्टी (भाजपा) का नेता मोदीले सपथग्रण गरेपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।
प्रचण्डको सोमबार स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको थियो।
यसअघि प्रधानमन्त्री प्रचण्ड गत वर्ष जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए।
मोदीको सपथग्रहण समारोहमा सहभागी हुन नेपालका साथै बंगलादेश, भुटान, माल्दिभ्स, मोरिससलगायतका राष्ट्र एवं सरकार प्रमुखलाई निमन्त्रणा पठाइएको छ।
सपथग्रहण समारोहमा सहभागी हुने विदेशी पाहुनाको सम्मानमा राष्ट्रपति द्रौपदी मुर्मूले रात्रीभोज दिने कार्यक्रम रहेको छ।
Leave a Reply