काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिँदैछन्।
दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।
प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ।
सरकारमा सहभागी तत्कालीन उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो।
योसँगै यस कार्यकालमा उनले चौथोंपटक विश्वासको मत लिने छन्।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने संघीय संसदको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ।
संघीय संसदको चौथों अर्थात वर्षे अधिवेशन गत वैशाख २८ गतेबाट सुरू भएको हो।
संसदको संयुक्त बैठकमा गत जेठ १ गते आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ।
त्यस्तै जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
Leave a Reply