मुगु- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले एकजुट भएर अगामी निर्वाचनको तयारीमा जुट्न कार्यकर्तासँग आग्रह गरेका छन्।
पछिल्लो केही दिनयता कर्णाली प्रदेसको भ्रमण गरिरहेका उनले मुगुमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो आग्रह गरेका हुन्।
नेता निधिले २०८४ मा हुने निर्वाचनको परिणाम पार्टीको पक्षमा ल्याउन एकता र मेलमिलापका साथ अगाडि बढ्नुपर्ने बताए।
‘२०८४ को आमचुनाव आउन अब धेरै दिन बाँकी छैन, अहिलेदेखि सबै जना तयारीमा जुटौं भन्ने मेरो आग्रह छ,’ उनले भने,‘चुनावको परिणाम हाम्रो पक्षमा ल्याउन एकजुटता र मेलमिलाप जरूरी छ।’
२०८४ को आमचुनावका साथै पार्टीको १५ औं महाधिवेशन दुई प्रमुख काम आफूहरूको सामुन्ने रहेको उनले बताए।
‘आमचुनाव त छँदैछ, त्यसअघि हामीले पार्टीको महाधिवेशन पनि सम्पन्न गर्नुपर्ने हुन्छ,’ निधिले भने,‘त्यसको तयारीमा पनि सबै जना जुट्नुपर्ने छ।’
१४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवा विधानअनुसार नै उम्मेदवार हुन नसक्ने भएकाले सल्लाह गरेर अगाडि बढ्नुपर्ने उनले बताए।
‘१४ औं महाधिवेशनमा शेरबहादुरजी, शेखरजी, प्रकाशजी र म सभापतिमा चुनाव लडेँ, अब त शेरबहादुरजी उम्मेदवार हुनुहुन्न होला, १५ औं महाधिवेशनका लागि सबै जनासँग सल्लाह गरेर अगाडि बढौंला,’ उनले भने।
कार्यक्रममा मुगु कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य एैनबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
Leave a Reply