जनकपुरधाम- विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरूपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ।
जल तथा मौसम विज्ञा विभाग, मौसम पूर्वानुमान महाशाखले तराई भूभागका केही स्थानमा विगते केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ।
यो क्रम २० वैशाखसम्म रहने मौसमविदले बताएका छन्।
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराई भूभागमा अत्याधिक गर्मीको सम्भावना रहेको विभागले जनाएको छ।
तातो बढ्ने सम्भावना रहेकाले सतर्क रहन तथा आवश्यक तयारी गर्न विभागले अनुरोध गरेको छ।
महाशाखाका मौसमविद रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या बढ्नसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्।
उनका अनुसार यो वर्ष सबैभन्दा बढी ४३.६ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। भैरहवामा गएको २० तारिखमा यो तापक्रम रेकर्ड भएको हो।
महाशाखाले जारी गरेको सूचनामा भनिएको छ,‘तराईका ती भूभागमा आजदेखि आगामी २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै पहाडी भूभागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरूपमा बढ्नसक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ।’
Leave a Reply