जनकपुरधाम- सशस्त्र प्रहरी धनुषाले तस्करी भएर आएको काजु किसमिस बरामद गरेको छ।
भारतबाट अवैध ढंगबाट तस्करी गरी ल्याइएको २३ लाख मूल्य बराबरको काजु किसमिस सशस्त्र प्रहरीले बरामद गरेको हो।
धनुषाका सशस्त्र प्रहरी प्रमुख दर्शन गिरीले सोमबार राति जनकपुरधाम उपमहानगरपालिका–१ सीता चोकबाट बरामद गरिएको जानकारी दिए।
उनका अनुसार ट्रकमा लोड गरिएको २१ क्विन्टल काजु र ५ क्विन्टल ४० किलो किसमिस सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतबाट अवैध रूपमा काजु किसमिस नेपाल भित्र्याएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा मातहतका सुरक्षा वेस जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक उमेशकुमार कार्कीको कमान्डमा खटिएको टोलीले ट्रक नियन्त्रणमा लिएको हो।
कार्की नेतृत्वको टोलीले काजु किसमिससहित मधेस प्रदेस ०४–००१ ख ०१७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ।
बरामद गरिएको काजु किसमिस आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको उपरीक्षक गिरीले जानकारी दिए।
Leave a Reply