जसपा नेपाल महाधिवेशन : ५० बढी पदाधिकारी उम्मेदवारको भविष्य ‘दाउ’ मा’!

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन जनकपुरधाममा जारी छ।

तीन दिनका लागि भनिएको महाधिवेशन चौथों दिनसम्म आइपुग्दा सम्पन्न हुन नसकेको हो।

जसपा नेपालले जेठ २८, २९ र ३० गतेका लागि महाधिवेशनको मिति तोकेको थियो।

पहिलो दिन उदघाटन, दोस्रो दिन बन्दसत्र र तेस्रो दिन नयाँ कार्यसमिति चयन गर्न चुनावको मिति तोकिएको थियो।

मनोनयन दर्ता, उम्मेदवारहरूको सूची प्रकाशनलगयातका निर्वाचनसम्बन्धी सबै कार्यक्रम सकेर बुधबार नै मतदान गर्ने तयारी गरिए पनि बिहीबारमात्रै मतदान हुँदैछ।

अबेर रातिसम्म निर्वाचनका लागि आवश्यक तयारी पूरा हुन नसक्दा बिहीबार मध्याह्न १२ बजेदेखि मतदानका लागि समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ।

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भइसकेका छन्। अध्यक्ष पदका लागि अरू कसैले मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध भएका हुन्।

यसअघि वर्तमान कार्यसमितिका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले अध्यक्षका लागि दाबी गरे पनि उनले सहअध्यक्षमा मनोनयन दर्ता गरेका छन्।

जसपा नेपालको यो महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिएका ५० बढी नेताको राजनीतिक भविष्य दाउमा लागेको देखिएको छ।

२० जना पदाधिकारीका लागि ७३ जनाको उम्मेदवारी दर्ता भएपछि पार्टीको आन्तरिक राजनीतिमा उनीहरूको भविष्य दाउमा लागेका हो।

जसपा नेपालको विधानमा एक जना अध्यक्ष हुने व्यवस्था छ। यो पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भइसकेका छन्।

एक जना सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। पार्टीको सहअध्यक्षका लागि मधेसका पूर्वमुख्यमन्त्री लालबाबु राउत, कार्यकारिणी सदस्यहरू राजकिशोर यादव र रकम चेम्जोङ प्रतिस्पर्धामा छन्।

तीनमध्ये एक जनामात्र सहअध्यक्षमा निर्वाचित हुनेछन्। सहअध्यक्षमा पराजित हुने दुई जना पार्टीभित्र साधारण सदस्यको हैसियतमा मात्रै हुनेछन्।

त्यस्तै महिला र पुरुष गरी पाँच जना उपाध्यक्षका लागि २३ जनाको उम्मेदवारी दर्ता भएको छ।

तीन जना पुरुष उपाध्यक्षका लागि १७ र दुई महिला उपाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यो पदमा मधेसका निर्वतमान मुख्यमन्त्रीदेखि राष्ट्रियसभा सदस्यसम्मका नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

पार्टी उपाध्यक्षका लागि निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमारसिंह यादव। आङदेन्डी शेर्पा, अर्जुन थापा, गोविन्ध चौधरी, प्रकाश अधिकारी, अमरेशनारायण झा, रेखा यादव, लिलादेवी सिटौला, शोभा डिसी, मुन्नी लामा, सबिता यादवलगायतका उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्।

उपाध्यक्ष पदमा पाँच जना निर्वाचित हुने भए पनि पार्टीमा बाँकी १७ जनाको हैसिय केन्द्रीय सदस्यको हुनेछ।

दुई जना महासचिवका लागि ८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। महासचिवमा उम्मेदवारी दिएकाहरू जसपा नेपालका लोकप्रिय र चर्चित अनुहारहरू हुन्।

पार्टी महासचिवमा दुई जनामात्र निर्वाचित हुने भएकाले बाँकी ६ जनाको पार्टीमा हुने पदीय हैसियत अन्योल देखिएको छ।

यो पदमा हाल पार्टी प्रवक्ता एवं मधेसका प्रदेससभा सदस्य मनिषकुमार सुमन, प्रतिनिधिसभा सदस्य दीपक कार्की, मधेसका पूर्वअर्थमन्त्री विजयकुमार यादवका साथै हालै माओवादी परित्याग गरी जसपा नेपाल प्रवेश गरेका रामकुमार शर्मा, अशोककुमार यादव र बोमबहादुर दरलामी मगर प्रतिस्पर्धा गरिरहेका छन्।

जसपा नेपालको विधानले तीन जना उपमहासचिव हुने व्यवस्था गरेको छ। तीन उपमहासचिवका लागि कडा प्रतिस्पर्धा देखिएको छ।

यो पदका लागि मधेसका पूर्वमन्त्रीदेखि पार्टीका पदाधिकारी रहिसकेकाहरू चुनावी मैदानमा उत्रिएका छन्।

उपमहासचिवमा खुलातर्फ डा.सुरेन्द्र यादव, रामबाबुप्रसाद यादव, रामकिशोरप्रसाद यादव, राजकुमार राई, योगेन्द्रराय यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा.जयप्रकाश राय यादव र जयराम यादवको उम्मेदवारी परेको छ।

उपमहासचिवका लागि प्रतिस्पर्धा गरिरहेका डा.सुरेन्द्र यादव पूर्वस्वास्थ्य राज्यमन्त्री, शैलेन्द्रप्रसाद साह मधेसका पूर्वअर्थमन्त्री, योगेन्द्रराय यादव र सुरेशकुमार मण्डल मधेसका पूर्वराज्यमन्त्री हुन्।

त्यस्तै महिलातर्फ सिताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव उपमहासचिवका लागि प्रतिस्पर्धा गरिरहेकी छन्।

पदाधिकारीहरूमध्ये सबैभन्दा बढी सचिवका लागि प्रतिस्पर्धा देखिएको छ। खुला र समावेशी गरी ७ जना सचिव पदका लागि २८ जनाको उम्मेदवारी दर्ता भएको छ।

७ जना सचिव निर्वाचित हुने भए पनि बाँकी २१ जना उम्मेदवारको पार्टीभित्र हुने हैसियत अन्योलमा देखिएको छ।

त्यस्तै एक जना कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ।

कोषाध्यक्ष पदका लागि यसअघि मधेस प्रदेसका अर्थमन्त्री रहेका सञ्जयकुमार यादव, निर्माण व्यवसायी बलराम महतो र रेणुकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन्।

यसबाहेक १० जना कार्यकारिणी समिति सदस्य अध्यक्षले मनोनित गर्ने जसपा नेपालको विधानले व्यवस्था गरेको छ।

केन्द्रीय सदस्यमा निर्वाचित भएकामध्येबाट कार्यकारिणी समितिमा मनोनित गर्ने व्यवस्था भएकाले पदाधिकारीमा पराजित हुने उम्मेदवारका लागि त्यहाँसम्म पुग्ने बाटो बन्द भएको एक जना उम्मेदवारको भनाइ छ।

उपमहासचिवमा उम्मेदवारी दिएका मधेसका पूर्वराज्यमन्त्री योगेन्द्रराय यादव विधानमा भएको व्यवस्थाका कारण पदाधिकारीमा पराजित हुने उम्मेदवारको भविष्य अनिश्चित बनेको बताए।

‘पदाधिकारीमा पराजित हुने ‘प्रोमिनेन्ट’ नेताहरू केन्द्रीय सदस्य हुने सम्भावना छैन, विधानका व्यवस्थाका कारण यी नेताहरू साधारण सदस्यको हैसियतमा आउने लगभग निश्चित छ,’ उनले भने।

कार्यसमितिको कुल संख्याको १० प्रतिशत केन्द्रीय सदस्यमा मनोनित हुने व्यवस्था विधानले गरेको छ। जसपा नेपालको केन्द्रीय कार्यसमिति २०१ सदस्यीय हुने विधानमा उल्लेख छ।

यो हिसाबले करिब २० जना केन्द्रीय सदस्यमा मनोनित हुनेछन्। अहिले पदाधिकारीमा उम्मेदवारी दिएकाहरूमध्ये ५४ जना पराजित हुने निश्चित छ।

पदाधिकारीमा पराजित भएकालाई नै केन्द्रीय सदस्यमा मनोनित गर्दा कम्तिमा ३४ जनाको हैसियत पार्टीमा साधारण सदस्यको मात्र हुनेछ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *