जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकताको घोषणा हुँदै

जनकपुरधाम- सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच बुधबार एकताको घोषणा हुँदैछ।

बुधबार बिहान ११ बजे काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुवै पार्टीबीच एकताको घोषणा हुन लागेको हो।

नागरिक उन्मुक्ति पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीले बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा दुवै पार्टीबीच एकताको घोषणा हुने जानकारी दिए।

एकीकृत पार्टीको नाम, शीर्ष नेताहरूको वरियता, चुनाव चिह्न, एकीकृत पार्टीको झण्डा, विधान, केन्द्रीय सदस्यका संख्यालगायतका विषयमा टुंगो लागिसकेपछि पार्टी एकताको घोषणा हुन लागेको उनले बताए।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच ९ बुँदे सम्झौताअनुसार एकता हुन लागेको हो।

पार्टीको नाम नागरिक जनमत हुने, नेता–कार्यकर्ताबीच ‘जय नागरिक’ भनेर सम्बोधन गर्ने, चुनाव चिह्न ढकिया राख्ने, एकतापछिको केन्द्रीय समिति सात सय सदस्यीय बनाउने र दुवै पार्टीबाट ५०–५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गर्ने, केन्द्रीय कार्यकारिणी समिति ५६ सदस्यीय बनाउने लगायतका सहमति दुवै दलबीच भएको छ।

त्यस्तै संरक्षकका रूपमा एकीकृत पार्टीको पहिलो वरीयतामा रेशम चौधरी रहने छन्। कार्यकारी अध्यक्षको जिम्मेवारीसहित सीके राउत पार्टीको दोस्रो र सहअध्यक्षसहित रञ्जिता चौधरी तेस्रो वरीयतामा रहने दुवै पार्टीबीच सहमति छ।

पार्टी एकताको घोषणापछि संयुक्त केन्द्रीय समितिको बैठक बसेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने दुवै दलबीच सहमति भएको छ। सहमतिअनुसार वैशाख १९ गते नागरिक–जनमत पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ।

वैशाख १५ गते बसेको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकले जनमत पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको थियो। नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समिति बैठकमा बोल्दै संरक्षक रेशम चौधरीले फुट्नका लागि एकता नगरिएको बताएका थिए।

यद्यपि पार्टी एकतापछिको आगामी बाटो सहज नहुने उनको भनाइ थियो। एकीकरणपछि आफूहरूको कुरामात्र सुनुवाइ नहुन पनि सक्ने बताउँदै उनले धेरै कुरा स्वीकार गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरेका थिए।

रेशमले कतिपय निर्णयमा चित्त नबुझे पनि स्वीकार गर्नुपर्ने अवस्था आउनेसक्ने भन्दै नेता कार्यकर्ताहरूलाई ढाडस दिएका थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *