जनमत पार्टीबाट ‘अचानक’ मुख्यमन्त्री बनेका सतिश सिंह को हुन्?

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव अल्पमतमा परिसकेपछि झन्डै महिनासम्म चलेको खिचातानीपछि मधेस प्रदेसले शुक्रबार नयाँ मुख्यमन्त्री पायो।

सरकारलाई निरन्तरता दिइरहने निर्वतमान मुख्यमन्त्री यादवको प्रयास र उनलाई रोक्ने एमाले, माओवादी, जनमतलगायतका दलहरूको अडानका बीच मधेसले नयाँ मुख्यमन्त्री पाएको हो।

एमाले–माओवादी–जनमतबीच मधेसमा बनेको नयाँ राजनीतिक गठबन्धनमा मुख्यमन्त्री जनमतलाई दिने सहमति यसअघि नै भइसकेको थियो।

जनमत पार्टीबाट प्रदेस संसदीय दलका नेता एवं पूर्वशिक्षामन्त्री महेसप्रसाद यादव मुख्यमन्त्री बन्ने धेरैको अनुमान थियो। जनमत पार्टीका नेताहरूले पनि यही संकेत गरेका थिए।

मुख्यमन्त्री बन्ने लगभग निश्चित भइसकेका पूर्वशिक्षामन्त्री यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर २(क) बाट प्रदेससभा सदस्यमा निर्वाचित सतिशकुमार सिंहको नाम अघि सारिएपछि आश्चर्यमा परे।

यादवका साथै जनमत पार्टीका अरू नेताहरूलाई पनि यो निर्णय अप्रत्याशित लागेको थियो।

अमेरिका भ्रमणमा रहेका सिके राउतले मधेसका मुख्यमन्त्रीका लागि सिंहको नाम प्रस्ताव गरे। मुख्यमन्त्रीबारे निर्णय गर्ने अधिकार पार्टीले राउतलाई दिएको थियो।

एमाले, माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), नागरिक उन्मुक्ति र संघीय समाजवादी नेपालका सांसदहरूको समर्थनमा दाबी पेस गरेका सिंह शुक्रबार नै मुख्यमन्त्री नियुक्त भएर कार्यभार सम्हाले।

मुख्यमन्त्री सिंहका साथै १० जना मन्त्री र तीन जना राज्यमन्त्रीले पनि शुक्रबार नै सपथग्रहण गरेर कार्यभार सम्हालिसकेका छन्।

मधेसमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो मन्त्रिमण्डल हो।

सिंह मुख्यमन्त्री भएसँगै झन्डै सात वर्षदेखि निरन्तर मधेस सरकारको नेतृत्व गरिरहेको जसपा नेपालको निरन्तरता टुटेको छ।

को हुन सिंह?

मधेसको मुख्यमन्त्रीमा नियुक्त भएका सिंह सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।

२०७४ सालको स्थानीय निर्वाचनमा उनी महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्ष निर्वाचित भएका थिए।

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि सिंह ठाकुर नेतृत्वकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अध्यक्ष पदको उम्मेदवार बनेका थिए।

तर, दोस्रोपटक उनले हारको सामना गर्नुपर्‍यो।

गाउँपालिका अध्यक्षमा पराजित भएका सिंह २०७९ सालको आम निर्वाचनमा लोसपाबाट प्रदेससभाको उम्मेदवार बन्न चाहेका थिए। गाउँपालिका अध्यक्षमा पराजित भएका उनलाई लोसपाले उम्मेदवार बनाएन।

लोसपाबाट टिकट नपाएपछि जनमत पार्टी प्रवेश गरेर सिंह प्रदेससभा सदस्यको उम्मेदवार बने। र, निर्वाचित भए।

मुख्यमन्त्री सिंहका बुबा शेखरकुमार सिंह लोसपाबाट राष्ट्रियसभा सदस्य छन्।

मुख्यमन्त्रीको सपथग्रहण समारोहमा उनका पिता शेखर पनि उपस्थित भएका थिए।

बिहीबार बिहान जनमत पार्टीले अचानक संसदीय दलका ेनेताबाट महेश यादवलाई हटाएर सिंहलाई चयन गरेको थियो।

यो निर्णयले जनमत पार्टीभित्र विवाद रहेको कुरा बाहिर आएको थियो।

जनमत पार्टीबाट मुख्यमन्त्री र एक जना राज्यमन्त्रीले सपथग्रहण गरेका छन्। यो दलबाट अन्य दुई जनामन्त्री पनि नियुक्त हुने बताइएको छ।

तर, जनमत पार्टीले हालसम्म ती मन्त्रीहरूको टुङ्गो लगाइसकेको छैन।

मुख्यमन्त्री सिंहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्।

अध्यक्ष राउत स्वदेश फर्किएपछि मन्त्रीहरूको टुङ्गो लाग्ने बताइएको छ।

को–को बने मन्त्री?

सिंह नेतृत्वको सरकारमा सत्ता साझेदार अन्य दलहरूले मन्त्री पठाएका छन।

मधेस सरकारमा एमालेका चार जना मन्त्री नियुक्त भएका छन्। त्यसमा एमाले प्रदेस संसदीय दलका नेता सरोजकुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृतिमन्त्री, शत्रुध्नप्रसाद सिंह स्वास्थ्य तथा जनसंंख्यामन्त्री र प्रमोद जयसवाल खेलकुद तथा समाज कल्याणमन्त्री रहेका छन्।

एमालेकै केशव राय स्वास्थ्य तथा जनसंख्या र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री बनेका छन्।

माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री बनेका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र बेची लुङ्गेली ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री बनेका छन्।

एमाले, माओवादी र एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरू यसअघिको सरकारमा पनि मन्त्री थिए।

एकएक जनामात्र सदस्य रहेको भए पनि नागरिक उन्मुक्ति पार्टीबाट उर्मिला चौधरी श्रम तथा यातायात र नेपाल संघीय समाजवादी पार्टीबाट विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री बनेकी छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *