जनकपुरधाम- जनकपुरधामको विश्वकर्मा चोकमा छुरा प्रहार गरी हत्या घटनामा पक्राउ परेका युवकको नाम प्रहरीले सार्वजनिक गरेको छ।
प्रिन्स महासेठलाई छुरा प्रहार गरी हत्या गरेको घटनामा पक्राउ परेका युवकको नाम प्रहरीले सार्वजनिक गरेको हो।
छुरा प्रहार घटनामा पक्राउ परेका युवक जनकपुरधाम–४ शान्तिनगर बस्ने २२ वर्षीय अर्जुन भन्ने अजयकुमार साह रहेको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो छुरा प्रहारबाट घाइते भएका प्रिन्सको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो। घटनालगत्तै अयज पक्राउ परेका थिए।
प्रहरीको अनुसन्धानबाट मृतक प्रिन्स र पक्राउ परेका अजय लागुऔषध सेवनकर्ता रहेको खुलेको छ।
यसरी भएको थियो घटना
प्रिन्स, अजय र रोशनकुमार झाबीच जटहीमा सामान्य विवाद भएको थियो। यही रिसिइवी राखेर अजयले प्रिन्समाथि छुरा प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
जटहीदेखि बसमा जनकपुर आउने क्रममा विश्वकर्मा चोक पुगेपछि अजयले प्रिन्सलाई कठालो समाति बसबाट ओरालेर कुटपिट गरेका थिए।
कुटपिटकै क्रममा अजयले आफूसँग भएको चक्कु प्रिन्सको छातीको बायाँ भागमा प्रहार गरेका थिए।
चक्कु प्रहारपछि घटनास्थलबाट प्रिन्स र उनका साथी रोशन भाग्ने क्रममा बेहोस भइ सडकमा लडेका थिए।
तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले उनलाई उपचारको लागि प्रादेशिक अस्पताल पु¥याएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको थियो।
महोत्तरीको एकडारा गाउँपालिका–३ का प्रिन्स हाल जनकपुरधाम–७ मा डेरा लिएर बस्दै आएका थिए।
घटनापछि फरार भएका अजयलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो। उनको साथबाट घटनामा प्रयोग भएको चक्कु फेला परेको धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।
आफूलाई ‘बाहुबली; भन्थे अजयले
जनकपुरधामको जिरोमाइल तथा अन्य क्षेत्रमा आफू उक्त क्षेत्रको दादा (बाहुबली) भएको अजयले बताउने गरेका थिए।
प्रहरीका अनुसार उनी भारतीय नाकाहरूमा गइ युवाहरूलाई लागुऔषध नाइट्रोभेट ट्याबलेट, गाँजा र भाङ सेवन गराउने गरेका थिए।
आफूले भनेको कुरा नमान्ने युवकलाई मनमा रिसइवी राखेर मौका पाएको बखत कुटपिट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
अरू मुद्दा पनि
प्रिन्स हत्यामा पक्राउ परेका अजयमाथि यसअघि पनि जिल्ला प्रहरी कार्यालयमा आपराधिक मुद्दाहरू दर्ता भएको खुलेको छ।
२०७२ साउन ३२ गते अजयउपर जिल्ला प्रहरी कार्यालय धनुषाबाट ‘केही सार्वजनिक अपराधसम्बन्धी कसुरमा’ मुद्दा चलेको थियो।
त्यस्तै २०७८ मंसिर २१ गते ‘सार्वजनिक शान्ति विरूद्धको कसुर मुद्दा’ मा पक्राउ परेका उनीमाथि प्रहरीले मुद्दा चलाएको थियो।
अजयलाई प्रहरीले चोरी मुद्दामा पनि पक्राउ गरेको थियो। २०८० वैशाख ७ गते चोरी मुद्दामा पक्राउ परेका उनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागारमा पठाउन आदेश दिएको थियो।
चोरी मुद्दामा अजय पुर्पक्षका लागि जलेश्वर कारागार बसेका थिए।
त्यस्तै २०८० मंसिर १६ गते ‘अभद्र व्यवहार मुद्दा’ मा पक्राउ परेका उनीमाथि प्रहरीले मुद्दा चलाएको थियो।
प्रिन्स हत्यामा पक्राउ परेका अजयमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply