जनकपुरधाम- जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सञ्चालनमा आएको छ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत रहेको प्रादेशिक अस्पतालमा मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रकुमार सिंहले शनिबार संयुक्तरूमा क्याथ ल्याबको उदघाटन गरेका हुन्।
स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको उदघाटन गरिएको हो।
ल्याबको उदघाटन गर्दै मुख्यमन्त्री यादवले प्रदेसमा स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।
स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार विकासमा मधेस प्रदेसले फड्को मारेको उल्लेख गर्दै उनले जनशक्ति व्यवस्थापनमा कुनै पनि कमी हुन नदिने बताए।
स्वास्थ्यमन्त्री सिंहले मुटु रोगको विशिस्टिकृत उपचारका लागि थप विशेषज्ञ व्यवस्था गर्न प्रतिष्ठानका पदाधिकारीहरूलाई निर्देशन दिए।
उनले प्रदेसका सबै नागरिकले सुलभ ढंगबाट स्वास्थ्यसेवा प्राप्त गर्न सक्ने गरी आफू काम गरिरहेको बताए।
स्वास्थ्य क्षेत्रमा सहज पहुँचका लागि जनशक्ति र पूर्वाधार प्रमुख चुनौती देखिएको बताउँदै मन्त्री सिंहले यसका लागि आवश्यक कामहरू अगाडि बढाइएको जानकारी दिए।
उदघाटन कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.अंकुर साहले क्याथ ल्याब सञ्चालनमा आएपछि मुटु रोगका बिरामीहरूलाई उपचारका लागि बाहिर जानु पर्ने अवस्था अन्त्य हुने उल्लेख गरे।
मधेस प्रदेसमा सरकारीस्तरमा पहिलो क्याथ ल्याब सञ्चालनमा आएको हो।
Leave a Reply