जनकपुरधाम- जनकपुरधाममा स्कुल बसले ठक्कर दिएर भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
जनकपुरधाम–२३ बिन्धीमा दक्षिणतर्फ गइरहेको प्र.२–०२–००१ क ४३१ नम्बरको एन्जल्स इंग्लिस बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएका हो।
उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
विहेका लागि खेतबाट माटो बोकेर आइरहेका पैदलयात्रुहरूले बसले ठक्कर दिँदा महिला र बालिका गरी ६ जना घाइते भएका छन्।
घाइतेहरूको प्रादेसिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार तीव्र गतिमा गइरहेको बसले पैदलयात्रुहरूलाई ठक्कर दिएको हो।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बस जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ।
स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन आधादर्जन अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ।
केही दिनअघि जनकपुरधाम–२३ कै लादोबेलामा श्रीराम इंग्लिस बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक साइकलयात्रुको मृत्यु भएको थियो।
Leave a Reply