विराटनगर- प्रहरीले गोली प्रहार गरेर मोरङबाट ब्राउन सुगर (खैरो हेरोइन) कारबोरमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको टोलीले मंगलबार दिउँसो मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडामा गोली हानेर ब्राउन सुगर कारोबारीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत किसनगञ्ज–८ घर बताउने ३४ वर्षीय भगीरथ हरिजन रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।
हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई आक्रमण गरेपछि दुई राउन्ड गोली फायर गरिएको उनले बताए।
उनको दाहिने तीघ्रामा गोली लागेको छ।
शंकास्पद अवस्थामा भेटिएका हरिजनलाई प्रहरीले पिछा गरेको थियो।
बिआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइलमा भाग्दै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो।
तर, प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनुपरेको बताइएको छ।
गोली लागेर घाइते भएका हरिजनलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा भर्ना गरिएको छ।
उनको साथबाट ब्राउन सुगरजस्तो देखिने १५८ ग्राम धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
Leave a Reply