जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी विभाजनलाई लिएर अदालत जाने भएको छ।
पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्न जसपा नेपाल अदालत जान लागेको हो।
बालकुमारीस्थित पार्टी कार्यालयमा मङ्गलबार बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताए।
आगामी जेठ २८ गते जनकपुरधाममा एकता महाधिवेशनको तयारी भइरहँदा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएको हो।
महाधिवेशनको तयारीका विषयमा छलफल गर्न आइतबार जनकपुरधाममा बैठक चलिरहेका बेला अशोक राईको नेतृत्वमा ७ जना प्रतिनिधिसभा सदस्यहरू नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।
जसपा नेपालबाट ‘नेपाल’ शब्द हटाएर दर्ता भएको जसपालाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको छ।
आयोगको यही निर्णयविरूद्ध जसपा नेपालले कानुनी उपचार खोज्ने तयारी गरेको हो।
बुधबार बस्ने पार्टी बैठक यो विषयमा औपचारिक निर्णय गर्ने तयारी जसपाले गरेको छ।
प्रवक्ता सुमनले बुधबार बस्ने पार्टी बैठकमा विकसित घटनाक्रमको समीक्षा गर्दै कानुनी उपचारलगायतबारे निर्णय हुने बताए।
उनका अनुसार बुधबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ।
बैठकपछि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने सुमनले बताए।
Leave a Reply