काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ।
सम्मानजनक व्यवहार नभएको भन्दै सरकार ढाल्ने चेतावनी दिँदै आएको एकीकृत समाजवादी प्रचण्डलाई विश्वासको मत दिने भएको हो।
आइतबार पेसागत महासंघ नेपालको स्थापना दिवसमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए।
‘हामी यो सरकारमा सहभागी छौं। मन्त्री हाम्रो पार्टीका नेता हुनुहुन्छ, त्यसकारण हामीले विश्वासको मत दिने/नदिने त प्रश्नै उठ्दैन। यहाँ कसैले शंका उपशंका नगरे हुन्छ है, कुनै इफ, कुनै बट छैन,’ उनले भने।
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने हुन्छ।
सोमबार विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन उनले संघीय संसद सचिवालयलाई पत्र पठाएका छन्।
जसपा नेपाल विभाजन भएर जसपा बनेपछि एकीकृत समाजवादी हच्किएको छ। आफ्नो पार्टीविनै विश्वासको मत पुग्ने र पार्टी नै फुट्नसक्ने त्रासमा एकीकृत समाजवादी ‘ब्याक’ भएको छ।
पछिल्लो समय अध्यक्ष नेपालको कार्यशैली र एजेन्डालाई लिएर सम्मानित नेता झलनाथ खनालसहितका नेताहरू सन्तुष्ट देखिएका छैनन्।
Leave a Reply