काठमाडौं- उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले सम्पत्ति विवरणमा २ करोड २५ लाख नगद सम्पत्ति रहेको उल्लेख गरेका छन्।
सरकारले सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणमा महासेठसँग यो परिमाणमा नगद रहेको उल्लेख छ।
उनले काठमाडौं र ललितपुरको साविक गाविस सैबु र ललितपुर महानगरपालिकाको जग्गा बिक्री तथा पैतृक जग्गाको कृषि बालिबाट यो रकम प्राप्त भएको उल्लेख गरेका छन्।
यस्तै प्रतिनिधिसभा सदस्यसमेत रहेकी श्रीमती जुलीकुमारी महतोको नाममा जनकपुरधाम–९ मा ३ कठ्ठा जग्गामा अढाइतल्ले घर रहेको महासेठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
श्रीमती महतोकै नाममा ललितपुर–२५ मा २ रोपनी १३ आनामा अढाइतल्ले घर रहेको उनले उल्लेख गरेका छन्।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा श्रीमती महतोको नाममा ७ बिघा ३ कठ्ठा, सिन्धुली कमलामाइ नगरपालिकामा ४ कठ्ठा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना, जनकपुरधाम–९ मा ३ कठ्ठा ११ धुर जग्गा रहेको महासेठको सम्पत्ति विवरणमा उल्लेख छ।
त्यस्तै जनकपुरधाम, मिथिला बिहारी नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिका गरी खरिद तथा पैतृकसम्पत्तिबाट प्राप्त भएको आफ्नो नाममा १ बिघा १५ कठ्ठा जग्गा मन्त्री महासेठको नाममा रहेको छ।
महासेठले आफ्नो सम्पत्ति विवरणमा पैतृक तथा उपहारबाट प्राप्त ४३ तोला सुन, १.५ केजी चाँदी रहेको उल्लेख गरेका छन्।
त्यस्तै जवाहरात (स्टोन भएको) ७ थान औँठी, ३ थान सिक्री(हारजस्तो देखिने), ३ जोडा कानमा लगाउने र दुई जोडा बाला रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ।
महासेठले आफ्नो र श्रीमती महतोको बैंक मौज्दात नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
श्रीमती महतोको गुडविल फाइनान्स र लक्ष्मी बैंक काठमाडौंमा ५ लाख, महिला लघुवित्त संस्थामा १ करोड र करपोरेट बैंक वीरगञ्जमा साढे २ करोडको सेयर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ।
मन्त्री महासेठले संगोल परिवारको नाममा धनुषाको मिथिला बिहारी नगरपालिकामा ३३ बिघा, सबैला नगरपालिकामा ३९ बिघा १४ कठ्ठा र मिथिला बिहारी नगरपालिकामै १० कठ्ठा जग्गा रहेको उल्लेख गरेका छन्।
उनले पेस गरेको सम्पत्ति विवरणमा आफू र श्रीमतीको नाममा सबारी साधन तथा पशुधन नरहेको उल्लेख गरेका छन्।
Leave a Reply