अरुण चौधरीलाई दुई दिन हिरासतमा राखी हाजिर जमानीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं- बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहितका आरोपीहरुलाई जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राखी थुनामुक्त गर्न आदेश दिएको छ।

सोमबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले चौधरीलगायतलाई दुई दिन हिरासतमा राखी हाजिर जमानीमा राख्न आदेश दिएको हो।

प्रहरीले म्याद थपका लागि बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी चौधरी, अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।

प्रतिवादीहरुको बयान कार्य सम्पन्न भइसकेको र प्रतिवादीहरुले आफू उपर लगाइएको आरोपमा अनुसन्धानमा पूर्ण सहयोग गर्ने भनी इजलाससमक्ष आफ्नो भनाइ व्यक्त गरेको आदेशमा भनिएको छ।

‘…राज्यको सम्पत्ति हिनामिना हुन जाने अवस्था भएमा हरेक नागरिकले अनुसन्धानमा सहयोग गर्नुपर्ने दायित्व र कर्तव्य सबैको रहने नै भएको हुँदा न्यायिक हिरासतलाई कसुरदार ठहर भइ पुर्पक्षका लागि थुनामा बस्नु परेको जस्तो गम्भीर रुपमा लिन नहुने र अनुसन्धानको कार्यलाई निष्पक्ष र पारदर्शी रुपमा अगाडि बढाइ आरोपित व्यक्तिहरु उपर मुद्दा चलाउने नचलाउने निर्णय गरी अभियोग पेस हुन बाँकी नै रहेको अवस्थासमेतलाई विचार गरी विवादित सम्पत्तिको विषयमा हुने अनुसन्धानमा यी प्रतिवादीहरुलाई हिरासतमा नै राखी अनुसन्धान नै गर्नुपर्ने हो होइन भन्ने सम्बन्धमा हेर्दा विवादित जग्गा वा सम्पत्तिलाई कसैले मास्न लुकाउन वा अहिले नै अन्यत्र हक हस्तान्तराण् गरी प्रभावित पार्न सक्ने अवस्था नरहेको,’ आदेशमा भनिएको छ।

त्यस्तै प्रतिवादीहरुको उमेर व्यवसायलाई कारण देखाउँदै अदालतले प्रतिवादीहरुलाई अनुसन्धानका लागि २५ दिन हिरासतमै राख्न जरुरी नरहेको बताएको छ।

आदेशमा भनिएको छ,‘आरोपित प्रतिवादी अजितनारायणसिंह थापाको उमेर ८० वर्षमाथिको रहेको र अन्य प्रतिवादीहरु पनि अन्य पेसा व्यवसायमा रही हजारौं नागरिकलाई रोजगारी प्रदान गरी अभिभावकको रुपमा रही आएको देखिँदा जिल्ला सरकारी वकिल कार्यालयबाट म्याद थप गर्न माग गर्दा आधार लिएका विषयवस्तुमा यी प्रतिवादीहरुलाई दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्नेसम्मको अवस्था नेदएिको हुँदा प्रतिवादीहरुको अनुसन्धानसमक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही बुझ्नुपर्ने, कागज गराउनुपर्ने भएमा त्यससम्बन्धमा बुझि, कागज गराउनका लागि मिति २०८०÷१०÷२२ गतेदेखि लागु हुनेगरी दुई दिनको म्याद थप गरी दिएको छ।’

प्रतिवादीहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्नसक्ने आदेशमा भनिएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *