काठमाडौं- धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष कैद सजाय सुनाइएको छ।
विशेष अदालत काठमाडौंले आइतबार साहलाई ३३ लाख २० हजार २२६ रूपैयाँ जरिवाना र चार वर्ष कैद सजाय सुनाएको हो।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका साहलाई विशेष अदालतले आइतबार सजाय निर्धारण गरेको हो।
‘…भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा दफा ३(१) बमोजिम बिगो बराबर रू. ३३ लाख २० हजार २२६ जरिवाना हुन र सोही दफा ३(१) बमोजिम चार वर्ष कैद हुने तथा दफा १७ बमोजिम बिगोसमेत प्रतिवादीबाट असुल उपर हुने,’ फैसलामा भनिएको छ।
साहले विद्युत प्रतिष्ठानको खातामा ३३ लाख २० हजार २२६ रूपैयाँ जम्मा नगरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८० भदौ २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रतिष्ठानले हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरूसँग बिजुलीको महसुल संकलन गरी हिनामिना गरेको साहमाथि आरोप लागेको थियो।
Leave a Reply