काठमाडौं- रूस–युक्रेन युद्ध सुरू भएको दुई वर्ष पुगेको छ। तर, लडाइँ सकिने कुनै लक्षण देखिएको छैन।
युक्रेन वा रूस वा तिनका सहयोगीहरूले शान्ति सम्झौताका लागि कुनै आधार फेला पारेका छैनन्।
किएभले आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनस्थापित हुनुपर्ने माग राख्दै रूसी सेनालाई जुनसुकै हालतमा बाहिर निकाल्ने बताउँदै आएका छन्। मस्को चाहिँ युक्रेन पूर्ण रूपमा राष्ट्र नभएको र आफ्नो लक्ष्य प्राप्त नभएसम्म पछि नहट्ने अडानमा छ।
दुवै पक्षतर्फ धेरै जनाको ज्यान जाने गरी हिउँदभरि युद्ध चल्यो।
युद्ध, १ हजार किलोमिटर लामो मोर्चामा लडिँदैछ र सन् २०२२ को सरद ऋतुदेखि दुवै पक्षले खासै प्रगति गर्न सकेका छैनन्।
आफ्नो सीमाभित्र प्रवेश गरेको केही महिनामा नै युक्रेनी सेनाले रूसलाई देशको उत्तरी भाग तथा राजधानी किएभ वरिपरिका क्षेत्रबाट पछाडि धकेलिसकेको थियो।
आक्रमणको एक वर्ष नबित्दै युक्रेनले देशको पूर्व र दक्षिणमा पनि ठूलो क्षेत्र फिर्ता लिइसकेको थियो।
तर, अब भने रूसी पक्षले आफ्नो पकड बलियो बनाएको छ र युक्रेनी पक्षले आफूहसँग हातहतियार कम हुन थालेको बताएका छन्।
हालै बर्खास्त गरिएका युक्रेनी सेनापति भालेरी जालुज्नी र केही रूसबाट समर्थन प्राप्त सैन्य ब्लगरसहित धेरैले गतिरोधको अवस्था रहेको मानेका छन्।
फेब्रुअरीको मध्यतिर युक्रेनी सैनिकहरू पूर्वको आभ्दियिभ्का सहर छाडेर आए। लामो समय लडाइँ भइरहेको यस रणनीतिक महत्वको सहरबाट सैनिकहरूको ज्यान जोगाउन पलायन हुनुपरेको किएभले बतायो।
उसले यहाँ आफ्नो सेना संख्या र शक्ति दुवैमा कमजोर रहेको कुरा पनि लुकाएन।
यता रूसले यसलाई ठूलो जितको रूपमा लिएको छ र यसको अवस्थितिका कारणले आभ्दियिभ्काबाट अन्य स्थानमा आक्रमण गर्न सजिलो हुने मानिएको छ।
यो रूसका लागि गत मे महिनामा बख्मुट कब्जा गरेपछिको सबैभन्दा ठूलो जित हो।
आभ्दियिभ्का सन् २०१४ देखि रूसको कब्जामा रहेको युक्रेनी सहर डोनेट्स्कबाट केवल २० किलोमिटरको दूरीमा छ।
यो फेब्रुअरी २०२२ मा युद्ध सुरू हुँदा रूस सरकार र उसका समर्थकहरूले ‘तीन दिनमा किएभमाथि विजय हासिल गर्ने’ प्रचारबाजीभन्दा निकै कम प्रगति हो।
रूसले हालसम्म युक्रेनको करिब १८ प्रतिशत भूभागमा मात्र नियन्त्रण कायम गर्न सकेको छ।
यसमध्ये क्राइमिया प्रायः द्वीपलाई उसले २०१४ मा आफ्नो देशमा गाभेको थियो र डोनेट्स्क र लुहान्सकलाई पनि त्यही साल कब्जा गरेको थियो।
विगत दुई वर्षमा युक्रेनले ठूलो मात्रामा सैन्य, आर्थिक तथा मानवीय सहयोग प्राप्त गरेको छ। कील इन्स्टिच्युट फर द वल्र्ड इकोनोमी नामक संस्थाका अनुसार जनवरी २०२४ सम्म युक्रेनले युरोपेली संघका निकायहरूबाट ९२ अर्ब अमेरिकी डलर र अमेरिकी सरकारबाट ७३ अर्ब अमेरिकी डलर बरारबरको सहायता प्राप्त गरिसकेको थियो।
पश्चिमले दिएको ट्यांक, हवाइ सुरक्षा उपकरण तथा लामो दूरीसम्म प्रहार गर्न सक्ने तोपहरूले युद्धमा युक्रेनलाई धेरै सघाएका छन्। तर, व्यावहारिक रूपमा कहिलेसम्म सहयोग गर्न सकिन्छ भन्ने विवादका बीच युक्रेनलाई मित्रराष्ट्रहरूबाट प्राप्त हुने सहयोग घट्न थालेको छ।
अमेरिकामा आन्तरिक असहमतिका कारणले ६० अर्ब डलर बराबरको सहायता प्याकेज संसदमा रोकिएको छ।
फेरि आसन्न राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्प विजय भए अमेरिकी सहयोग पूर्ण रूपमा सुक्ने चिन्ता पनि छ।
धेरै छलफल र वादविवादपश्चात युरोपेली संघले ५४ अर्ब डलरको प्याकेज फेब्रुअरीमा पारित गर्न सक्यो।
विशेष गरी संघलाई खुला रूपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन र युक्रेनको विरोध गर्दै आएका हङ्गेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानलाई सहमत गराउन निकै सकस प¥यो।
त्यसबाहेक युरोपेली संघले मार्च २०२४ को अन्त्यसम्ममा युक्रेनलाई दिने लक्ष्य राखेको तोपका १० लाखवटा गोलाको आधा संख्यामात्र दिन सक्ने देखिएको छ।
रूसलाई छिमेकी बेलारूसले आफ्नो भूमि तथा हवाइ क्षेत्र प्रयोग गर्न दिइ समर्थन गरिरहेको छ।
अमेरिका र युरोपेली संघका अनुसार इरानले पनि रूसलाई शाहेद नामका ड्रोन दिइरहेको छ। तर, इरानले रूसलाई युद्धअघि ड्रोन दिएको मात्र स्वीकारेको छ।
हवाइ सुरक्षा संयन्त्र छल्न सक्ने क्षमताका कारण दुवैतर्फ उच्च मागमा रहेका यस्ता मानवरहीत वायुयान रूसका लागि युक्रेनमा प्रहार गर्ने प्रभावकारी साधन प्रमाणित भएका छन्।
रूसले आफ्नो तेलका क्रेता र सैनिक उद्योगहरूका लागि चाहिएको उपकरण र यन्त्र बेच्ने विक्रेता दुवै पाइरहेकाले पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्ध सोचे जस्तो असर गरेको छैन।
चीनले कुनै पनि पक्षलाई हतियार आपूर्ति गरेको छैन भन्ने बुझाइ छ। उसले हालसम्म सावधानीपूर्वक कूटनीतिक सन्तुलन कायम राख्दै युक्रेनमाथि रूसको आक्रमणको निन्दा गरेको छैन तर रूसलाई सैन्य समर्थन पनि गरेको छैन।
तर, चीन र भारतले रूसबाट तेल भने किनिरहेका छन्।
रूस र युक्रेन दुवैले विकासशील राष्ट्रहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास पनि गरिरहेका छन् र अफ्रिका र ल्याटिन अमेरिकामा कूटनीतिक भ्रमणहरू तीब्र बनाएका छन्।(बिबिसीबाट)
Leave a Reply