जनकपुरधाम- प्रथम राष्ट्रपति डा.रामवरण यादव महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने भएका छन्।
नेपाल गौरव महेन्द्रनारायण निधिको सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले उनको १०३ औं जन्मजयन्तीको अवसरमा प्रथम राष्ट्रपति यादवलाई यो पुरस्कार दिन लागिएको हो।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने कार्यक्रममा प्रथम राष्ट्रपति यादवलाई पुरस्कारबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र जारी गर्न समन्वयकारी भूमिका निर्वाह गरेका तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा पाँच दशक निरन्तर सक्रिय योगदान गरेकोमा डा.यादवलाई महेन्द्रनारायण निधि तथा प्रेमसागरी देवी निधि राष्ट्रिय पुरस्कार, २०८० प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिए।
साथै करिब ८ दशकदेखि निरन्तर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वमन्त्री योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार, २०७९ बाट सम्मानित गर्ने निर्णय भएको छ।
त्यस्तै मानव अधिकारका लागि सक्रिय तथा लोकतान्त्रिक आन्दोलनमासमेत योगदान दिएको दुर्गा घिमिरे र शास्त्रीय संगीतमा सधानारत प्रथम नेपाली महिला तबलावादक सरिता मिश्रलाई क्रमशः २०८० र २०७९ को प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ।
विसं. २०५८ मा मानार्थ अध्यक्ष विमलेन्द्र निधि र संस्थापक अध्यक्ष भानभक्त ढकाल भइ नेपाल गौरव महेन्द्रनारायण निधिको सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले विसं. २०७० देखि अहिंसा, लोकतन्त्र, सामाजिक न्याय, समुदायबीच सद्भाव, सामाजिक जागरणमा सक्रिय व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ।
यसअघि विभिन्न क्षेत्र र विधाका ३० जना व्यक्तित्वहरू सम्मानित भइसकेको पुरस्कारको राशी रू. एक लाख एक हजार रहेको छ।
Leave a Reply