प्रधानमन्त्री दाहालले कमलाको झोलुङ्गे पुल उदघाटन गर्ने

जनकपुरधाम- प्रधानमन्त्री पुष्पकमल दाहालले धनुषा र सिरहा जोड्न कमला नदीमा नवनिर्मित झोलुङ्गे पुलको उदघाटन गर्ने भएका छन्।

प्रधानमन्त्री दाहालले शनिबार नवनिर्मित पुलको उदघाटन गर्न लागेका हुन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले प्रधानमन्त्री दाहालबाट शनिबार पुलको उदघाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए।

त्यस्तै प्रधानमन्त्रीले सबैला–४ पटेरवा र सिरहा जोड्ने कमला नदीमा मोटरेबल पुलको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ।

कमला नदीमा निर्माण गरिएको धनुषा र सिरहा जोड्ने झोलुङ्गे पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल रहेको बताइएको छ।

पुलले धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ६ कठाल र सिरहा नगरपालिका वडा नम्बर १६ मलहनियालाई जोडेको छ।

नेपाल सरकारको ३४ करोडको लागतमा निर्माण भएको यो पुलको लम्बाइ १ हजार ५ सय दशमलब ४४ मिटर र चौडाइ एक दशमलब दुई मिटर रहेको छ

उमा थानी निर्माण सेवाले ठेक्का पाएको यो पुलको निर्माण तोकिएको समयभन्दा ६ महिनाअघि सकिएको थियो।

ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले २०७९ असोज १ गतेदेखि निर्माण कार्य सुरू गरेको थियो।

ठेक्का अवधि २०८१ असार मसान्तसम्म भए पनि ६ महिनाअगावै माघ महिनामै पुलको निर्माण सम्पन्न भएको थियो।

पुलको भारतवहन क्षमता ५४० मेट्रिक टन छ भने एकपटकमा ३ हजार ८६ जना व्यक्ति ओहोरदोहोर गर्न मिल्ने निर्माण कम्पनीले जनाएको छ।

कमला नदीमा झोलुङ्गे पुल निर्माण भएपछि घन्टौ लगाएर प्रदेस राजधानी जनकपुरधामसम्म पुग्ने समय छोटिएको छ।

पुलबाट मोटरसाइकल, साइकल र पैदलयात्री हिँडडुल गर्न पाउने भएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *