DHKHABAR

All news at one place

अर्थव्यवस्था

सात महिनामा ८ खर्ब व्यापार घाटा

काठमाडौं- चालु आर्थिक वर्ष २०८०÷८१ को सुरूवाती महिनाको अवधिमा रू. ८ खर्ब ११ अर्ब ११ करोड बराबरको व्यापार घाटा भएको छ।

कुल ९ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार हुँदा यो परिमाणमा व्यापार घाटा भएको हो।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना अवधिको वैदेशिक व्यापारको तथ्यांकअनुसार माघ मसान्तसम्ममा रू. ८ खर्ब ९७ करोड ३९ लाख बराबरको आयात भएको छ भने रू. ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको छ।

गत वर्षको तुलनामा समग्र व्यापार घाटा २.७५ प्रतिशतले घट्दा व्यापार घाटा पनि १.७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ।

नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने मुलुक भारत हो। भारतसँग रू. ५ खर्ब ५४ अर्ब ७५ करोड ८८ लाखको आयात गर्दा रू. ५८ अर्ब ७२ करोड २७ लाखमात्रै निर्यात भएको छ।

त्यस्तै दोस्रो ठूलो वैदेशिक व्यापार रहेको मुलुक चीनसँग नेपालले रू. १ खर्ब ७१ अर्ब २३ करोड ६३ लाख बराबर व्यापार घाटा बेहोरेको छ।

माघ मसान्तसम्ममा चीनबाट रू. १ खर्ब ७३ अर्ब ९ करोड ११ लाख बराबरको मालवस्तु आयात हुँदा रू. १ अर्ब ८५ करोड ४८ लाख बराबरको निर्यात भएको छ।

त्यस्तै नेपालले उच्च व्यापार घाटा बेहोर्ने मुलुकको सूचीमा तेस्रो स्थानमा युएई रहेको छ।

चालु आर्थिक वर्षको सात महिना अवधिमा युएईसँग रू. १५ अर्ब ६९ करोड ५४ लाखको आयात र रू. १ अर्ब ५८ करोड ३३ लाख बराबरको निर्यात भएको छ।

नेपालले वैदेशिक व्यापार गर्ने मुलुकहरूमध्ये सबैभन्दा बढी व्यापार नाफा संयुक्त राज्य अमेरिकासँग रहेको छ।

सात महिना अवधिमा अमेरिकाबाट रू. ९ अर्ब १७ करोड ५८ लाख बराबरको वस्तु आयात हुँदा नेपालबाट रू. ९ अर्ब ५४ करोड ६ लाख बराबरको निर्यात भएको छ।

डेनमार्क, नर्वे, अफगानिस्तान, माल्दिभ्सलगातका मुलुकसँग पनि नेपालको व्यापार नाफामा रहेको छ।

सात महिनाको अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ।

यो अवधिमा रू. ७७ अर्ब ४१ करोड ९८ लाख बराबरको डिजेल, रू. ३८ अर्ब ८२ करोड ६३ लाख बराबरको पेट्रोल र रू. ३० अर्ब ३१ करोड २४ लाख बराबरको एलपी ग्यास आयात भएको छ।

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *