DHKHABAR

All news at one place

समाचार

नगराईन नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास

जनकपुरधाम- धनुषास्थित नगराईन नगरपालिका कार्यालयको प्रशासकीय भवनको शिलान्यास भएको छ।

बुधबार एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख विनयकुमार यादव र उपप्रमुख राधादेवी यादवले संयुक्तरूपमा प्रशासकीय भवनको शिलान्यास गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नगरपालिकास्थित लगमा गाढागुढीको नाममा रहेको करिब सवा १२ कठ्ठा जग्गामा प्रशासकीय भवन निर्माण हुन लागेको हो।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख यादवले निर्माण हुने नयाँ भवन सम्पूर्ण पालिकावासीका लागि भएको बताए।

उनले भवन निर्माण कार्यमा सबैको सहयोग प्राप्त हुने आफूलाई विश्वास रहेको उल्लेख गरे।

शिलान्यास कार्यक्रममा अनुपस्थित भएका एमालेका वडाध्यक्षहरूतर्फ इंगित गर्दै उनले भने,‘केही मान्छेले भवन निर्माण नहोस् भनेर चाहनु भएको छ। तर, उहाँहरूको यो चाहना पूरा हुनेवाला छैन। आज शिलान्यास भएको छ। भवनको निर्माण पनि सम्पन्न हुनेछ।’

शिलान्यास कार्यक्रममा एमालेबाट निर्वाचित उपप्रमुख र केही वडा सदस्यबाहेक वडाध्यक्षहरू अनुपस्थित थिए।

उपमेयर राधादेवीले आफूहरूकै कार्यलमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरिन्।

प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले सशर्त अनुदानमार्फत संघीय सरकारबाट विगत दुई तीन वर्षदेखि बजेट आइरहे पनि काम सुरू हुन नसकेको बताए।

पहिलो चरणमा संघीय सरकारबाट प्राप्त १ करोड र नगरपालिकाको तर्फबाट ५ करोड ५० बजेट विनियोजन गरेर भवन निर्माण कार्य सुरू गर्न लागिएको उनले जानकारी दिए।

कर्णका अनुसार यो आर्थिक वर्षमा भवन निर्माणका लागि ६ करोड ५० लाख परिचालन गरिएको छ।

उनले १८ करोड ८१ लाख मूल्य बराबरको इ–बिडिङ भए पनि १३ करोड ८१ लाख ४७ हजारमा ठेक्का स्वीकृत भएको बताए।

तीन तले प्रशासकीय भवन निर्माणको ठेक्का रिलायन्स मकालु सिम्स जेभी जनकपुरले पाएको हो।

दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ठेक्का पाएको हो।

कार्यालय सञ्चालनका लागि चाहिने आवश्यक सम्पूर्ण सुविधासहित भवन निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए।

प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षका साथै सभाहललगायतका सुविधासहितको भवन निर्माण हुने उनले जानकारी दिए।

कर्णले नयाँ भवनमा पार्किङ, बाउन्ड्रीवाल, कर्मचारी आवासगृहको समेत सुविधा हुने बताए।

नगरपालिका स्थापना भएको विगत ७ वर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आइरहेको छ। नगरपालिकाले घरभाडावापत प्रत्येक महिना करिब १ लाख रूपैयाँ खर्च बेहोर्नु परिरहेको छ।

पालिकाको आफ्नै भवन निर्माण भइसकेपछि सेवाप्रवाहलगायतका काम छिटोछरितो ढंगले सम्पन्न हुने विश्वास पालिकाका पदाधिकारीहरूले लिएका छन्।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *