१९ राजनीतिक दललाई नाम परिवर्तन गर्न आयोगको निर्देशन

काठमाडौंं- निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ।

संविधान र ऐनको मर्मअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो।

आयोगको पदाधिकारीको बिहीबार बसेको बैठकले आयोगमा दर्ता कायम रहेका १९ दलको नाम परिवर्तन गर्न निर्देशन दिने निर्णय गरेको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन्।

संविधान तथा ऐनमा दलको नाम सार्वजनिक नैतिकता प्रतिकूल हुन नहुने व्यवस्था छ।

भट्टराईले संविधान र ऐनको भावनाविपरित दर्ता भएका दलहरूलाई नाम परिवर्तन गर्न जानकारी गराउने निर्णय भएको बताए।

आयोगले ऐनविपरित नाम हुने दललाई छुट्टाछुट्टै पत्राचार गरी निश्चित समय दिएर नाम परिवर्तनका लागि जानकारी गराउने उनको भनाइ छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७२ मा दलको नाम, उद्देश्य, चिह्न वा झन्डा, नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकूल हुने भएमा दल दर्ता नहुने उल्लेख छ।

भट्टराईले २०७२ सालअघि नै दर्ता भएका राजनीतिक दलमा यस प्रकारको समस्या देखिएको बताए।

त्यस्तै आयोगले ४१ राजनीतिक दललाई खारेजको प्रक्रियामा लाने निर्णय पनि गरेको छ।

केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेको, लेखा परीक्षण प्रतिवेदन नबुझाएको र बुझाए पनि सार्वजनिक नगरेको, आयोगले तोकेको जरिवानासमेत नबुझाएका दललाई खारेजी प्रक्रियामा लगिएको आयोगले जनाएको छ।

भट्टराईले त्यस्ता ४१ दललाई अन्तिमपटकलाई भनेर एकपटक जरिवाना बुझाउन निर्देशन दिने र जरिवाना नबुझाए खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताए।

आयोगको निर्णयअनुसार नाम परिवर्तन गर्नुपर्ने दलहरू :

१. मुस्कान सेना नेपाली पार्टी

२. चुरे भावर लोकतान्त्रिक पार्टी

३. मधेस तराई फोरम

४. नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी

५. मधेसी जनअधिकार फोरम मधेस

६. शिव सेना नेपाल

७. नेपाल दलित पार्टी

८. खुम्बुवान राष्ट्रिय मोर्चा

९. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट

१०. नेपाल सुकुम्बासी पार्टी

११. ताम्सालिङ लोकतान्त्रिक पार्टी

१२. अखण्ड सुदूरपश्चिम पार्टी नेपाल

१३. पिछडावर्ग निषाद दलित जनजाति पार्टी

१४. राष्ट्रवादी युवा मोर्चा

१५. आमूल परिवर्तन मसिहा पार्टी नेपाल

१६. मङ्गोल नेसनल अर्गनाइजेसन

१७. संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी

१८. किरात खम्बुवान साझा पार्टी

१९. तराई मधेस लोकतान्त्रिक पार्टी

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *